अपडेट 
२०८० जेष्ठ २०, शनिबार ०६:४८

नयाँ नागरिकता ऐन अनुसार आइतबारदेखि नागरिकता प्रमाणपत्र वितरण शुरू हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण शुरू भएको छैन् । जिल्ला प्रशासन कार्यालयहरू गृह मन्त्रालयको परिपत्र कुरेर बसेका थिए । गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण शुरू गर्न भनेपछि मुलुक भरका जिल्ला प्रशासनहरूले आइतबारदेखि नागरिकता वितरण थाल्ने भएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गृहको परिपत्र आइपुगेको तर, विपद् व्यवस्थापनको कार्यक्रममा व्यस्त रहेका कारण हेर्न भ्याएन आइतबार सूचना प्रकाशन गरेर अनलाइन फारम भर्न आह्वान गर्ने जानकारी दिए । ‘नागरिकता ऐन जारी भइसकेको छ’, उनले भने, ‘गृहले परिपत्र पठाएको छ तर हामीले आउनेवित्तिकै नागरिकता वितरण शुरू गर्छौं। परिपत्र आए आइतबारदेखि नै नागरिकता वितरण शुरू गर्छौं ।’ जिल्ला प्रशासन कार्यालय रौतहटले पनि आइतबार देखि नागरिकता वितरण गर्ने तयारी थालेको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ । गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन् ।

त्यस्तै, गैरआवासीय नेपालीले राजनीतिक बाहेकका अधिकार प्राप्ति गर्नका लागि पनि नागरिकता पाउने छन् । नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउँछन् । यो कानुनअनुसार महिलाले आफ्नो नामबाट मात्र सन्तानलाई नागरिकता दिलाउन चार वटा शर्त पूरा गर्नुपर्ने छ । नेपालमै जन्मेको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान नभएको हुनुपर्ने र बाबुको पहिचान नभएको घोषणा गर्नुपर्ने शर्तमा उल्लेख छ । पुरूषले आफ्नो नामबाट मात्र सन्तानलाई नागरिकता दिलाउनका लागि कुनै पनि शर्त पूरा गर्नु पर्दैन । उनीहरूले आफ्नो नागरिकता देखाएर सजिलै सन्तानलाई नागरिकता दिलाउन सक्नेछन् । महिलाले भने आफ्नो नामबाट नागरिकता दिलाउन जाँदा बच्चाको बाबुको पहिचान छ या छैन भन्ने प्रश्नको सामना गर्नु पर्नेछ । बाबुको पहिचान छ भने देखाउनु पर्ने र छैन भने किन नभएको त्यसको व्यहोरा खुलाउनु पर्नेछ । बच्चाको नागरिकता बनाउने बेलासम्म पहिचान नभएको बाबुपछि आएर सन्तान दाबी ग¥यो र ऊ जैविक रूपमा बाबु भएको प्रमाणित भए आमाले सजाय भोग्नुपर्ने यो विधेयकले व्यवस्था गरेको छ । यस्तो अवस्थामा महिलालाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

अंगीकृत नागरिक यो देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख बन्न पाउने छैनन् । अर्थात् नेपाली महिलाले विदेशी पुरूषसँग विवाह गरेर जन्मिएको सन्तान माथि उल्लेखित राज्यका प्रमुख पदहरूमा पुग्ने पाउने छैन । तर विदेशी महिला र नेपाली पुरूषबाट जन्मिएको सन्तानलाई भने त्यस्तो कानुनी बन्देज हुने छैन । नयाँ ऐनमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा उनी वा उनको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था नयाँ कानुनमा छ । यसरी गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालमा रहँदाको आफ्नो नागरिकता अथवा बाबु, आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।

सम्बन्धित व्यक्तिले नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धता पत्र आदि बुझाएर गैर आवासीय नेपाली नागरिकता लिन सक्ने व्यवस्था नयाँ कानुनमा छ । त्यस्तै साविकमा नेपालको नागरिकता लिइ नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि उनले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News