अपडेट 
२०८० जेष्ठ २०, शनिबार ०६:५७

धनुषाको मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मीहरू तलब भत्ताको माग गर्दै विगत ११ दिनदेखि आन्दोलित भएका छन् । उनीहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । उनीहरू विगत ८ महिनादेखि बाँकी रहेको आफूहरूको तलब भत्ताको व्यवस्था गर्न र पोशाक भत्ताको रकम उपलब्ध गराउन माग गर्दै धर्ना बसेका छन् ।

नगर कार्यपालिकाको कार्यालय तारापट्टीको मूल गेटमा उनीहरू विभिन्न ६ बँुदे माग राख्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष ओमप्रकाश यादवले बताए । उनले दिनरात नभनी स्वास्थ्यकर्मी खटिरहेकोमा आफुहरूले विगत ८ महिनादेखि सेवा सुविधा नपाउँदा हातमुख जोड्नसमेत समस्या भइरहेको बताए । आर्थिक वर्ष ०८०÷८१ देखि नियमित रूपमा तलबको व्यवस्था गर्न, हरेक स्वास्थ्य चौकीमा औषधिको सहज व्यवस्थापन गर्न, विगत तीन वर्षदेखि बाँकी रहेको नागरिक लगानी कोष र सञ्चय कोषको रकम समयमै जम्मा गर्न उनीहरूले माग अघि सारेका छन् । संघर्ष समितिका अध्यक्ष यादवले मेयरदेखि हाकिमसम्म यसवर्ष स्वास्थ्यकर्मीको लागि बजेट नै नआएको भन्दै पन्छिन खोजेको आरोप लगाए । उता, धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पनि करारका कर्मचारीहरू विगत १० दिनदेखि धर्नामा बसेका छन् । नगरपालिकाले २०७४ सालपछि नियुक्त भएका करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेपछि उनीहरू जेठ १० गतेदेखि धर्नामा बसेका छन् । सोही पालिकामा विगत ६ वर्षदेखि कार्यरत करारका कर्मचारी जमिल अख्तरले राजनीतिक पूर्वाग्राही रुपमा आफूहरूमाथि विभेद भएको बताए ।

कार्यपालिकाले करारका कर्मचारीलाई करार अवधि नथपेपछि आफूहरू बाध्य भएर धर्नामा बसेको उनले बताए । उनले नगर प्रमुख सुखदेव यादव र प्रमुख प्रशासकीय अधिकृत सिवेन्द्र मण्डल मिलेर फरक आस्था भएका कर्मचारीलाई विनाकारण हटाइएकोप्रति ध्यानाकर्षण गराउँदै माग पूरा नभएसम्म धर्ना यथावत राख्ने बताए । धर्नाको १० दिन वितेपनि सम्बन्धित पक्षले अहिलेसम्म कुनै चासो नदेखाएको उनको गुनासो छ । करार कर्मचारी सबैको नियुक्ति खारेज वा म्याद नथपिएका कर्मचारीको म्याद थप गर्नुपर्ने मागसहित ५४ जना कर्मचारी धर्नामा रहेका छन् । अख्तरले सो पालिकामा कार्यरत करारका कर्मचारीले विगत ११ महिनादेखि तलबबाट समेत बञ्चित रहेको सुनाए । त्यस्तै, पालिकाका ज्येष्ठ नागरिकहरूले पनि सामाजिक सुरक्षा भत्तावापतको तेस्रो किस्ता रकम अहिलेसम्म पाएका छैनन् । त्यसअघि करारका कर्मचारी एवम् ज्येष्ठ नागरिकहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News