अपडेट 
२०८० जेष्ठ २१, आईतवार ०६:४७

विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप धनुषमा विपद्बाट जोगिनका लागि “विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” जनकपुरधामको गंगासागरमा शनिबार सम्पन्न भएको छ ।

बाढीका दृष्टिकोणले निक्कै जोखिममा पर्ने जिल्लाको रुपमा रहेको धनुषा जिल्लामा कमला, जमुनी, वडहरी, औरही जस्ता नदीहरूमा वर्षेनि रुपमा बाढी आएर धनजनको क्षति हुने भएकाले यसबाट हुने धन जनको क्षतिलाई न्यून गर्नका लागि पूर्व अभ्यास गरिएको छ । जनकपुरधामका गंगासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेडक्रसको सहभागितामा पूर्व तयारी स्वरूप अभ्यास गरिएको छ । पूर्व अभ्यासमा तीनै सुरक्षा अङ्गले रब्बर बोट, डोरी, लाईफ ज्याकेटसहितका सामग्रीहरूको प्रयोग गरिएको थियो । बाढीसहित अन्य प्रकारको विपद्जन्य २३० वटा घटना धनुषामा गत वर्ष हुनुका साथै यसमा परेर १० जनाको मृत्यु भएको छ । बाढी तथा विपद्जन्य घटनाका कारणले जिल्लामा १३ करोडको क्षति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनले विपद्बाट जोगिनका लागि तथा जोगाउनका लागि सबै प्रकारको तयारी धनुषामा भइरहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जलबाट आउने विपद् बाट जोगिनका लागि धनुषाका हरेक युवाहरूले खोला, नदी तथा पोखरीमा पौडी सिक्न आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जल विपद् को साथै आगलगबाट धनुषामा ठूलो मात्रामा धनजनको क्षति हुने भएकाले हरेक पालिकाले वारुण यन्त्र खरिद गर्नुका साथै विपद्को सामना गर्न केही बजेट विनियोजन गर्न आग्रह गरे। धनुषाको महेन्द्रनगरमा रहेको नेपाली सेनाका गणका प्रमुख सेननी सुरेश देवकोटाले यस पटक विपद्जन्य अवस्थाको सामना गर्नका लागि नदी तथा खोलाको स्थलगत अनुगमन गरेको बताए । पानीजन्य जोखिममा नेपाल विश्वमा ४ औँ स्थानमा रहेको छ भने भूकम्पीय दृष्टिकोणले ११ स्थानमा र समग्र विपद्जन्य जोखिममा ३० औँ स्थानमा रहेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिए।

Comment


Related News