अपडेट 
२०८० जेष्ठ २१, आईतवार ०६:५९

मधेश प्रदेशबाट विगत १३ वर्षमा १० लाख भन्दा बढी युवायुवतीहरु विदेशिएका छन् ।

एक तथ्यांकका अनुसार यस प्रदेशबाट गत ०६६/६७ सालदेखि ०७८/७९ को अवधिमा १० लाख ३९ हजार ७ सय ५४ जना युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । तथ्यांक अनुसार विगत १३ वर्षको अवधिमा सबै भन्दा बढी धनुषा जिल्लाबाट २ लाख १६ हजार १२२ जना विदेशिएका छन् ।

त्यस्तै, महोत्तरीबाट १ लाख ९६ हजार ८९५ जना, सिरहाबाट १ लाख ७८ हजार २३५ जना, सप्तरीबाट १ लाख २७ हजार १४८ जना, सर्लाहीबाट १ लाख २६ हजार ६५६ जना, रौतहटबाट ७५ हजार ७०२ जना, बाराबाट ७३ हजार १३३ जना र सबभन्दा कम पर्सा जिल्लाबाट ४५ हजार ८६३ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका छन् ।

चालु आर्थिक वर्षको १० महिना (साउनदेखि बैशाख)सम्ममा धनुषाबाट मात्रै ३५ हजार ६६ जना वैदेशिक रोजगारीमा विभिन्न खाडी मुलुक पुगेका छन् । जसअनुसार गत साउन महिनामा ३ हजार ५४३ जना, भदौमा ४ हजार ३२२ जना, असोजमा ३ हजार ५४७ जना, कार्तिकमा ३ हजार ५४८ जना, मंसिरमा ३ हजार ५४८ जना, पुसमा ३ हजार ६३८ जना, माघमा ३ हजार २४७ जना, फागुनमा ३ हजार १२९ जना, चैतमा ३ हजार ६८१ जना र वैशाखमा ३ हजार ४३ जना विदेश पुगेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थाले पनि रेमिट्यान्सको प्रवाह भने घटिरहेको देखिन्छ । यो अवधिमा हुण्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यम सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सीलगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकारहरु बताउँछन् ।

यद्यपि, चालु आर्थिक वर्षको मासिक रेमिट् यान्सको अवस्था सन्तोषजनक रहेको देखिन्छ । गत साउनमा ९२ अर्ब २ करोड, भदौमा ९४ अर्ब ८ करोड, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५ करोड, पुसमा १ खर्ब ४ अर्ब ६ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४ करोड र चैतमा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्सवापत नेपाल भित्रिएको तथ्यांक छ ।

Comment


Related News

Latest News

Trending News