अपडेट 
२०८० जेष्ठ २३, मंगलवार ०६:५९

मधेश प्रदेशमा सत्तारुढ दलहरु नागरिकताको सवालमा एक ठाउँमा उभिएका छन् ।

सोमबार प्रदेशसभा बैठक सुरु हुने वित्तिकै सत्तारुढ दलका सांसदहरु उठेर नागरिकता रोक्ने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाए । सभामुख रामचन्द्र मण्डलले कारबाही प्रक्रिया सुरु गरेलगत्तै सत्तारुढ ६ दलका सांसदहरु उठेका थिए । त्यसपछि सभामुखले,‘के छ माननीय ज्यू, केही विशेष छ कि ? भन्दै प्रश्न गरेर लोसपाका सांसद उपेन्द्र महतोलाई आफ्नो धारणा राख्न अनुमति दिएका थिए ।उनले नागरिकता दिने प्रक्रिया रोकिने प्रयास भइरहेको जानकारी गराएका थिए । नेपाली नागरिकलाई अनागरिक बनाउने प्रयास भइरहेको उनको कथन थियो । सोही कारण जसपा, नेपाली कांग्रेस, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी लगायत दलले विरोध गरेको उनले बताए ।

त्यसपछि जसपाका सांसद रामअशिष यादवले नेकपा एमालेलाई लक्षित गर्दै प्रतिनिधिसभा संसद अवरुद्ध नगर्न सामूहिक रुपमा सन्देश दिएको बताए । शून्य समयमा बोल्दा लोसपाकै सांसद रानी शर्मा तिवारीले पनि नागरिकता सम्बन्धी मुद्दा नै उठाएकी थिइन् । नागरिकता बल्ल पाउने खुशियाली साट्न नपाउँदै खोस्न षड्यन्त्र भइरहेको उनले चिन्ता व्यक्त गरे ।

ठाउँ ठाउँमा प्रदर्शन

संशोधित नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

नागरिकताविहीन नागरिकहरूले जनकपुरधाम–ढल्केवर र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए भने जिल्ला प्रशासन कार्यालय धनुषा अगाडिसमेत प्रदर्शन गरिएको थियो । उनीहरुले नागरिकता ऐनको विरोध गर्ने दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा पार्टीविरुद्ध नारावाजी गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेका थिए । त्यसपछि सरकारले बनाएको विधेयक रापत्रमा प्रकाशित भएर गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आइतबारदेखि नागरिकता दिन परिपत्र गरेको थियो । सोही दिन सर्वोच्च अदालतले उक्त ऐन यथास्थितिमा राख्न आदेश दिएका थिए । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायतले उक्त विधेयक प्रमाणीकरण प्रक्रियाविरूद्ध दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

Comment


Related News

Latest News

Trending News