
नेकपा (माओवादी केन्द्र)को कोसी प्रदेश कमिटीले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको बैठकले सरकार छाड्ने निर्णय गरेको हो।
विराटनगरमा सम्पन्न बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी केन्द्र प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए । अब यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनेछन्।
एमालेका हिक्मत कार्कीको नेतृत्वमा गत पुस २४ गते सरकार गठन भएको थियो। सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको एक सांसदको समर्थन थियो । जसपाले समर्थन फिर्ता लिइसकेको छ।