अपडेट 
२०८० जेष्ठ २४, बुधबार ०५:२८

सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम अत्यन्त महत्वाकांक्षी रहेको प्रदेश सभासदस्यहरुले आरोप लगाएका छन् ।

प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गतका योजनाहरुलाई आगामी आर्थिक वर्षमा पूरा गरी त्यसलाई रोकिने उल्लेख गरेको छ । प्रदेशको सर्वाधिक लोकप्रिय तर सर्वाधिक विवादास्पद साइकल वितरण कार्यक्रमका लागि सरकारले सोझै विद्यालयलाई नै अनुदान दिने घोषणा नीति तथा कार्यक्रममा गरेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई विद्यालयले नै साइकल खरिद गरी दिनेछ । कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई ल्यापटप सरकारले वितरण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सञ्चालनमा नआएको मधेश विश्वविद्यालयसितको सम्बन्धमा प्रदेशका आठवटै जिल्लामा १/१ वटा आवासीय महिला कलेज सञ्चालन गरिनेछ ।

हाल मधेश प्रदेशमा महिलाका लागि विद्यालय रहे पनि आवासीय कलेज भने रहेको छैन् । सरकारले प्रदेशमा स्थानीय तहसित समन्वय गरी केन्द्रीय स्तरका विद्यालयहरुसित समन्वय गरी नमुना विद्यालय सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले कृषि मिटरको महसुलमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । कृषि मिटर किसानलाई निःशुल्क उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । मधेश प्रदेश मन्त्रालय अन्तर्गत रहेका निर्देशनालय, विभाग, वोर्ड, समिति, आयोग र प्राधिकरणहरुलाई गाभी पुनः संरचना वा खारेज गरी चालु खर्च न्यूनीकरण गरी पुँजीगत क्षेत्रमा खर्चलाई वढावा दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रदेशको समग्र विकासका लागि उपयुक्त रहेको नेपाली कांग्रेसका सभासद शेषनारायण यादवले बताए ।‘प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनकपुरधामको जानकी मन्दिर लगायतका प्रसिद्ध धार्मिक, सांस्कृतिक स्थलहरुको संरक्षणका लागि सरकारको नीति तथा कार्यक्रम मौन छ ’ उनले भने, सरकारको नीति तथा कार्यक्रममा अझै धेरै विषयहरु समेटनु पर्नेछ । नेकपा एमालेका सभासद दीपेन्द्र ठाकुरले नीति तथा कार्यक्रम शब्दजाल रहेको बताए ।‘सरकारको नीति तथा कार्यक्रमले मधेश प्रदेशका वासिन्दालाई खुशी तुल्याउने कार्यक्रमहरु ल्याउन सकेको छैन्’ उनले भने, विगतमा बदनाम भएका कार्यक्रमहरुलाई सरकारले परिस्कृत गर्न सकेको छैन् ।’ सरकार छाड्ने अथवा रहने अनिश्चित रहेको जनमत पार्टी संसदीय दलका नेता शिक्षा तथा समाजकल्याण मन्त्री महेश यादवले नीति तथा कार्यक्रम यथार्थपरक रहेको बताए ।‘शिक्षा, कृषि, स्वास्थ्य लगायतका क्षेत्रलाई नीति तथा कार्यक्रममा राम्रो स्थान दिएको छ ’ उनले भने, कार्यान्वयन भए जनतामा सकारात्मक प्रभाव पर्नेछ ।

सत्तारुढ जनता समाजवादी पार्टी( जसपा)की सभासद ललिता दासले दलित र महिला मैत्री नीति तथा कार्यक्रम नरहेको बताएकी छन् । त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)की सभासद रानी शर्माले आफ्नो दलको सुझावलाई नीति तथा कार्यक्रममा नसमेटिएको आरोप लगाएकी छन् ।‘कार्यक्रममा छुटेका विषयहरुलाई संशोधन मार्फत समावेश गर्ने प्रयास गर्नेछौ’ उनले भनिन्, सरकारको नीति तथा कार्यक्रम अपेक्षाकृत सन्तुलित नै रहेको छ ।

सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न चुनौती धेरै रहेको एमाले संसदीय दलका नेता सरोज कुमार यादवले बताए ।‘ सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन हुन सहज छैन्’ उनले भने, अनावश्यक शब्दको प्रयोगले कतिपय कार्यक्रम प्रष्ट समेत छैन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपलब्ध गराएको १ अर्ब रुपैयाको लागतमा बनाइने भनिएको बहुउदेश्यीय रंगशालाको कार्यक्रममा चर्चा समेत नगरिएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News