अपडेट 
२०८० जेष्ठ २४, बुधबार ०५:३८

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको बताएका छन् ।

उद्योगमन्त्री रिजालले जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा मंगलबार संघको राजर्षि सभा हलमा आयोजना गरिइएको अन्तरक्रिया कार्यक्रममा भारत भ्रमणको क्रममा नेपालको जल विद्युत्, पर्यटन तथा व्यापारको क्षेत्रमा पनि उपलब्धिमूलक भएको बताए । उनले वर्तमान सरकार मुलुकको विकासका लागि सम्भावित सबै क्षेत्रलाई चलायमान बनाउन चाहेको बताउँदै गरिखानेलाई सरकारले सबै प्रकारको समस्याको समाधान तथा सहयोग गर्नका लागि तयार भएको र त्यसै अनुसारको नीति तथा कार्यक्रम ल्याएको बताए । उनले जनकपुरधाम क्षेत्रमा रहेको जनकपुर चुरोट कारखाना सरकारले चलाउने पक्षमा नभएको बताउँदै चुरोट उत्पादन गर्ने सरकारको काम पनि नभएको स्पष्ट पार्दै यस ठाउँको प्रयोग अन्य काममा लगाउनका लागि संघीय सरकार सहयोग गर्न तयार भएको बताए ।

उद्योगमन्त्री रिजालले मुलुकको समृद्धि र विकासका लागि औद्योगिक विकास आवश्यक भएको बताउँदै सरकारको काम आफैले उद्योग चलाउने होइन निजी क्षेत्रलाई उद्योग र व्यापार गर्नका लागि प्रोत्साहन गर्ने भएको बताए । उनले मुलुकमा केही काम गर्न चाहनेका लागि लाइसेन्स प्रदान गर्ने प्रक्रियालाई सरल बनाइएको बताउँदै मुलुकको आर्थिक अवस्था अहिले ठिक नभएको बताउँदै सरकार आर्थिक अवस्थामा सुधार गर्नका स्थानीय उत्पादनमा जोड दिने पक्षमा रहेको बताए ।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले औद्योगिक विकास विना समृद्ध नेपाल तथा सुखी नेपालीको लक्ष्य गर्न कठिन भएको बताउँदै युवालाई रोजगारीमा नलगाएसम्म मुलुकलाई अगाडि बढाउन कठिन भएको बताए । उनले मधेश प्रदेशमा कृषि तथा कृषिमा आधारित उद्योगको सम्भावना व्यापक भएको बताउँदै कृषिको विकासका लागि सिँचाई तथा रासायनिक मलको आपूर्ति सहज बनाउन आवश्यक रहेको कुरामा जोड दिए ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुर क्षेत्रको औद्योगिक, व्यापारिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक सुझाव सहितको पाँच बुँदाको ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुङ्गाना, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरङ्ग प्रसाद साहसहितका वक्ताहरूले आफ्नो मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News