अपडेट 
२०८० जेष्ठ २४, बुधबार ०५:४७

चाडपर्वको आगमनसँगै बाह्य आवरणमा चुर्लुम्म डुब्ने प्रवृत्ति मौलाउँदै गएको छ । आजको विज्ञान , प्रविधिको युगमा उदारीकरण , विश्वव्यापीकरण ,अपसंस्कृति एवं भोगवादी विचारधाराको युगको प्रवाहमा विचित्रको खिंचडी संस्कृति सिर्जन हुन थालिसकेको छ । परिणामतः पूर्वीय र पाश्चात्य संस्कृति छुट्ट्याउन गाह्रो हुन गएको छ ।

चाडपर्वमा आयोजन गरिने आराधनाका नाममा भजन सन्ध्या, मनोरञ्जनका नाममा अश्लील गीत र नृत्यको होडबाजीले आस्था , विधिव्यवहार , पैतृक संस्कारहरु व्यक्तित्व विकासको बाधक तत्व बन्न गएको अनुभूति हुन्छ । आज पछाडि हैन , अगाडि देख्ने प्रवृत्तिको तीव्रताले सौहार्दता , स्नेह र एक्यबद्धताको भावनामा कमीले आफ्नो लागि बाँच्नुपर्ने भावनाको विकास नै संस्कृतिप्रतिको विचलन मान्नुपर्दछ । यसले मानवीय जीवनमा आफ्नो गौरवशाली अतीतप्रतिको संवेदनशून्यताले रुखोपना ल्याएको छ , यसको कारक तत्व हो परम्परागत सांस्कृतिक थातीप्रतिको उपेक्षा । चाडपर्वका अवसरमा संस्कृतिलाई जगेर्ना गर्ने गहन जिम्मेवारीको बोधलाई महत्वहीन बनाइएको छ । केही संस्थाले संस्कृतिको प्रदर्शन मञ्चमा मात्र सीमित राख्नु , संस्कृति प्रदर्शनलाई आर्थिक उपार्जनको व्यवसाय बनाउनुले पनि संस्कृति आधुनिकताको चपेटामामा परी बाटो बिराउन थालेको छ । संस्कृति र कलाले नै दुनियाँ बदलिन्छ ।

मानवीय हृदयको सबैभन्दा गहिरो , भित्री पत्रलाई तर्क वा कारणले होइन , भावनाले उत्प्रेरित गर्छ । समाजमा बालबालिका , युवायुवती , पुरुष र नारी समाजले लोकगीतलाई सम्वद्र्धन गर्दै संस्कृतिको हस्तान्तरणमा योगदान गरेका छन् । कुनै पनि जातजातिको लोकसंस्कृति भनेको निजत्वको विशिष्ट परम्परा र पहिचान हुने गर्दछ । कुनै पनि सामाजिक जीवनको संरचनामा केही मौलिक तत्वको महत्वपूर्ण हात हुन्छ जसले सम्पूर्ण जीवनशैलीलाई एउटा निश्चित धारतिर डो¥याइरहेको हुन्छ , यही नै लोक संस्कृति हो । यो क्रिया अत्यन्त सहज , अकृत्रिम , स्वाभाविक र परम्परागत जीवनशैलीको आडम्बररहित उपस्थापन हुन्छ । संस्कृतिले मानव मात्रको चिनारीलाई स्थायित्व प्रदान गर्दछ , एकसूत्रतामा आबद्ध गर्ने निर्माण गर्दछ । यसै कारणले वसुधैव कुटुम्बकम्को नारालाई महत्वपूर्ण मानिएको छ , यसमा समस्त मानवीय संस्कृतिको विशिष्टता प्रस्ट हुन्छ । संवेदनशून्यताका कारणले देखिएको संस्कृतिप्रतिको उपेक्षापूर्ण गतिविधिलाई हटाउन मन र जीउमा ओढेको बाह्य आवरणको पहिचान गर्नु जरुरी छ । मन र जीउमा ओढेको बाह्य आवरणलाई हटाएमा नै मौलिक संस्कृतिको मूल स्वरुप प्रस्ट हुन सक्छ । हुन त संस्कृतिको विनाश सजिलो छैन , संस्कृति शरीरको नभइ आत्मा गुण हो , त्यसैले पनि आहार विहार , संस्कार , शिष्टाचार , परिधान , साज शृङ्गार ,, भाषा भंगिमालाई बाह्य आवरणबाट मुक्त गर्ने पर्दछ ।

शाब्दिक अर्थमा संस्कृति शब्दको उत्पति संस्कृत , संस्कारले हुन्छ , जसको अभिप्राय परिष्कार , शुद्धि क्रिया हुन्छ । त्यसैले समाजको आधार संस्कृतिलाई मानिएको छ । संस्कृति ज्ञान, विश्वास , कला , उपलब्धि समग्रताको बोघक एवं मार्गदर्शक भएकाले मानवीय क्रिया गर्दछ , व्यवहार गर्दछ र विशेष प्रकारको मनोवृत्ति विकसित गर्दछ । संस्कृति मानवको अनुपम निधि , सिकेको विधिको विधान , जीवनको रीति , सम्पूर्णताको द्योतक हो । एकता, समन्वय एवं विकास , सन्धि एवं विकास , प्राचीन परम्परा एवं नवीन मूल्यका विलयनको कथा हो । मानव सोच्ने , व्यवहार गर्ने , प्रतिक्रिया , स्पष्टीकरण दिने गर्दछ , यसकै समग्रताको संग्रहणलाई नै संस्कृति हो । शास्त्रकारले मानवका हरेक पक्षलाई नियमवद्ध गर्नका लागि संस्कारको व्यापक योजनाको व्यवस्था गरे जो मानवको सम्पूर्ण जीवनसँग सम्बन्धित भयो र जसको मूल उद्देश्यमा सुनिश्चितता र उपादेयता समावेश थियो । संस्कार मानव जीवनलाई परिष्कार एवं शुद्धिमा सहयोग , व्यक्तित्व विकासलार्इृ सुनिश्चित गरी पवित्रता र महत्व प्रदान गर्दे अन्त्यमा जटिलता एवं समस्याको संसारबाट सरल , आानन्द मुक्ति प्रस्तुत गर्दछ ।

सामान्यतः साहित्य , नीतिशास्त्र र ज्ञानका विभिन्न शास्त्रमा संस्कृतिको अर्थ भिन्न– भिन्न रुपमा स्पष्ट गरिन्छ भने संस्कृतिको वैज्ञानिक अवधारणा मानवशास्त्री एवं समाजशास्त्रीले पनि पृथक ढंगले प्रस्तुत गरेको पाइन्छ । टायलर तथा वीरस्टीडको मत विशेष रहेको छ , उनीहरुले संस्कृतिलाई जटिल समष्टि मान्दै त्यसमा ज्ञान, विश्वास , कला , नैतिकता , कानुन , प्रथा र औसत क्षमता तथा वाणीलाई समावेश गरेको देखिन्छ । हुन त संस्कृतिको तात्पर्य शिष्टाचारको ढंग एवं विनम्रतासँग भए पनि संस्कृतिको स्वरुप व्यापक छ । त्यसमा तत्व र विशेषता सन्निहित रहेको हुन्छ जसले मानवलाई सामाजिक प्राणी बनाउने तथा पर्यावरणसँग अनुकलन गराउने क्षमता प्रदान गर्दे विविध रुपमा जीवनलाई प्रभावित गर्दछ । वस्तुतः विचार , विश्वास , नियम परम्परा , सदाचारको ढंग र जीवनपद्धति , अभौतिक संस्कृतिको निर्माण गर्दछ जसको क्षेत्र व्यापक र तत्व विपुल छ । परिवर्तन प्रकृतिको नियम हो जसले सोच र व्यवहारलाई प्रभावित गर्दछ ।

पूर्वाधारको प्रमुखताले समाज र संस्कृतिको स्वरुप एवं स्वभाव पनि परिवर्तित हुँदै जान्छ । हाम्रो संस्कृति पनि परिवर्तनबाट प्रभावित भइ रहेको छ , जसमा नगरीकरण , औद्यौगीकरण , पश्चिमीकरण ,आधुनिकीकरण , संस्कृतिकरण , आधुनिक शिक्ष र राजनैतिक चेतनाको प्रभाव विशेष उल्लेखनीय प्रतीत हुन्छ । यस क्रममा संस्कारको पहिलो खुडकिलो जन्म र त्योसंग सम्बन्धित उत्सव आफ्नो प्राचीन प्रचलित परम्पराबाट धेरै टाढा हुँदै ससम्बन्धित शुचि आचारको रुपलाई परिवर्तन गरिदिएको छ । प्रसूति घर र जन्मशौचको रुप फेरिएको छ । छठिहारको अवसरमा प्रदर्शनको क्रममा आयोजित भोजमा औपचारिकताको आधारमा पुरुष वर्गको सहभागितामा वृद्धि हुँदै गइरहेको छ र बिना कुनै तारतम्यको अशौचको अन्न ग्रहण सामान्य भएको छ । त्यस्तै जन्म वर्षगांठ मनाउने र त्यसमा मैनबत्ती बाल्दै केक काटनु संस्कृतिको अंग बन्दै गएको छ । मुण्डन संस्कारमा कुलदेवताको स्थानमा आफ्नो सुविधानुसार आयोजनको स्वरुप विकसित हुँदै गएको छ । उपनयन संस्कारले द्विजता प्रदान गन्ै गरिएकोमा अब औपचारिकताको निर्वाहको एक प्रदर्शनमा सीमित भएको छ । ग्रामीण सहभागिताको स्वरुप नभइ परिवार कुटुम्ब र हित अपेक्षितसम्म मात्र रहन गएको छ । उपनयन बारे निर्धारित आयुको विचार महत्वहीन भएको छ । विवाह जो धार्मिक बन्धन थियो , जन्मजन्मान्तरसम्म सम्बन्धको द्योतक थियो , संस्कारको एक रुप थियो , पूर्णताको प्रतीक थियो , त्यसको आदर्श , मान्यतामा धेरै परिवर्तन आइसकेको छ । धार्मिकताको स्थानमा भौतिकताको रुप सबल भएको छ ।

यसमा गोत्र , जाति , उम्र आदिसँग सम्बन्धित विचार परिवर्तित हुँदैछ । सगोत्र विवाह , अन्तरजातीय , अन्तर सामुदायिक विवाह , विलम्ब विवाह , बेमेल विवाहको प्रचलनमा वृद्धि हुँद्रैछ , विवाहको विधि संक्षिप्त हुँदै नवीन तत्व प्रभावी भएको छ । विवाहको सन्दर्भमा प्रचलित व्यवहार मातृका पूजा (अभ्यूदय पूजा), महु विवाह (प्रकृति पूजा) , परिछन(जाँच परीक्षा ) महत्वहीन हुँदै गएको छ । जन्तीको परम्परागत स्वरुपमा पनि परिवर्तन भइसकेको छ । छाडापनको प्रश्रयले संस्कारिक गीतको स्थानमा अश्लील गीतको बाहुल्य , नाचगानको प्रदर्शनले अपनत्व बोधलाई शब्दमा सीमित भएको छ । शहरमा विवाहको आयोजनले नाटकीय स्वरुप ग्रहण गर्दे गएको छ । संस्कृति , सभ्यता भन्दा पनि धन प्रदर्शनको होडबाजीमा परिणत भएको छ । कन्यादानको प्रसंगमा नव क्रम देखिएको छ । दानको अवधारणामा पनि परिवर्तन हुँदैछ । सभा वा गोष्ठीमा सम्मान स्वरुप अतिथिलाई माला लगाउने कार्यमा कुमारी कन्याको प्रयोग देखिएको छ । कुमारी कन्याको पूजा प्रावधान पनि छ । कुमारी एवं बटुकको पूजन र भोजन गारउने परम्परागत प्रतीकात्मक अवधारणामा समेत परिवर्तन भएको छ । मृतक पूजा अर्थात श्राद्ध संस्कारसंग सम्बन्धित प्रचलित परम्परागत विचार एवं व्यवहारमा पनि अन्तर देखिएको छ ।

यसमा श्रद्धाको भाव कम र प्रदर्शनको भाव विशेष प्रखर हुँदै गएको छ । दानको सूचीमा आधुनिक भौतिक उपकरणको नाम अधिक देखिएको छ भने प्रचलित पाँच वर्षसम्म वार्षिक श्राद्ध पनि शिथिल भएको छ , यसमा भातको भोजलाई आवश्यक मानिएको छैन । प्याज र लहसुनको प्रचलन सामान्य भएको छ । आमा बुवालाई तिरस्कार , घृणा गर्दे अंश वितरणसम्ममा सीमित गर्ने मनोविज्ञानको विकास बाहुल्य भएको छ । सामाजिक सञ्जालमा आमाबुवाप्रति स्नेहको धार बगेको देखिए पनि व्यवहारमा स्वच्छाचारी प्रवृत्तिको बाधक मानिने गरिएको छ । संस्कृति तत्व र संस्कार सन्निहित सोहर , कुमार , पीतर , स्वयंवर , नैनाजोगिन , कोहवर , गौरी , साँझ , बारहमासा , चौमासा , चैती , वसन्ती , तिरहुत , वटगमनी , योग , उचती , पराती , नचारी , महेशवाणी , उदासी , समदाउन आदिको अवसर विशेषमा अभिव्यक्ति हुँदै आएकोमा अब त्यो स्थानमा फिल्मी गीतको प्रयोग गर्ने चलनमा वृद्धि भएको छ । संस्कृतिप्रति अनुराग ,धरोहरप्रति सम्मान प्रदर्शित गर्नु मानवताको द्योतक मानिएको छ । आफ्नो भेषभूषा धारण गर्नु आफ्नो पहिचान गर्नु हो , संस्कारको अनुपालन गर्नु , विचार व्यवहारलाई संस्कृति अनुरुप अभिव्यक्ति गर्नु ,आफ्नो स्वको भावलाई वृद्धि गर्नु जीवनको परिचायक हो । व्यवकहार शरीरको यस्तो अदृश्य अंग हो जो देखिदैन तर सबै थोक बोध गराउँछ , यस अवस्थामा उपर्युक्त बिन्दुको सम्यक विवेचना, विश्लेषण , अनुशरण एवं अनुशीलन गरी सांस्कृतिक स्वरुपको संरक्षण एवं सम्वद्र्धनलाई साकार रुप प्रदान गर्न सकिन्छ ।

Comment


Related News