अपडेट 
२०८० जेष्ठ २५, बिहीबार ०७:२३

चाहे राणा जहानिया शासनको विरूद्धमा होस् वा राजा महेन्द्रद्वारा २०१७ साल पुस १ गते खोसिएको प्रजातन्त्रको पुनर्बहालीका लागि होस् नेपाली काँग्रेस शुरूदेखि हालसम्म सबै आन्दोलनमा आफ् नो नेतृत्वदायी भूमिकामा बसेर सक्रिय योगदान दिदै आएको कुरालाई सबैले स्वीकार गरेका छन् ।

२००७ सालको क्रान्तिमा राजा र जनता दुबैको सहयोग थियो । विश्वमा यस्तो इतिहास बिरलै छ जहाँ राजा र जनता सँगसँगै आन्दोलनमा होमिएका हुन्छन् । २००७ सालको आन्दोलन सकिएपछि देशमा प्रजातन्त्र आयो भने यसलाई कसरी अगाडि बढाउने कुरामा त त म म गर्दै संसदीय निर्वाचनसम्म आउँदा जम्मा आठ वर्ष लागेको थियो । यी आठ वर्षमा आठचोटी मन्त्रीपरिषद्को गठन भएको थियो । २०१५ सालको निर्वाचनबाट विश्वेश्वरप्रसाद कोइराला नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री भए । यो मन्त्रीपरिषद् २०१६ साल जेठ १३ गते गठन भई २०१७ साल पुस १ गतेसम्म मात्र आफ्नो काम गरेको थियो । त्यसपछि नेपाली काँग्रेस राजा महेन्द्रको विरूद्धमा सशस्त्र आन्दोलन गर्ने निर्णय ग¥यो । यस निर्णय अनुसार पूरै देश प्रजातन्त्रको पक्षमा आन्दोलित भए । पार्टीका नेताहरूलाई धरपकड हुन थाल्यो । बहुदलवादी दुई भागमा विभाजित भए । केही नेता तथा कार्यकर्ताहरू पञ्चायतलाई समर्थन गरी प्रवेश गरेका थिए भने बाँकी नेता तथा कार्यकर्ताहरू आन्दोलनमा होमिए । आजको यस लेखलाई लेखकले तत्कालिन महोत्तरी जिल्लाको पूर्वी हिस्सा खेस्राहा संसदीय क्षेत्रतिर मोड्न चाहन्छ जो जहिले पनि नेपाली काँग्रेसको छायामा परेको देखियो । यो क्षेत्र त धेरै वीर सपूतहरूलाई जन्माए पनि काँग्रेसका नेतृत्ववर्गले ठाउँसम्म पुग्न दिएन । सम्बन्धित क्षेत्रलाई उपेक्षा गरी यदि कुनै पार्टीले काम गर्दै जान्छ भने त्यसको आधार क्षेत्र कमजोर हुँदै जान्छ । यो खेस्राहा क्षेत्र सधंै काँग्रेस क्षेत्र हुँदा हुँदै नेपालमा कम्युनिष्टहरूको बृद्धि हुने क्षेत्रहरू मध्ये यो क्षेत्र पनि जोडिन्छ ।

यसको मूल कारण काँग्रेसले यस क्षेत्रमा बाहिरका उम्मेदवारलाई लाद्दै जाँदा यस्तो अवस्था हुन गयो । २००७ सालको आन्दोलनको सफलता पश्चात २०१५ सालको आमनिर्वाचनबाट वामपन्थी ४ वटा सिटमा मात्र जितेका थिए । त्यसबेला खेस्राहा क्षेत्रबाट काँग्रेसका सरोजप्रसाद कोइराला विजयी भएका थिए । यसक्षेत्रलाई पार्टीहरू मध्येका कुनै पार्टीले सही उम्मेदवार दिन नसकेको कारणले सधै लुटपाट, डकैती, हत्या आदि घटनाहरू निरन्तरता पाउँदै गए । यस क्षेत्रमा केही तत्कालीन नेताहरूका नाम यहाँ उल्लेख गर्न चाहन्छु जो आफ्ना तन–मन– धनले सहयोग गरे पनि समय आएपछि पछाडि पारिन्थ्यो । यसका कैयौं उदाहरण इतिहासको पानामा नगई मानिसको मनबाट अहिले पनि गएको देखिँदैन । तत्कालिन नेताहरूमा क्रमशः हृदयकान्त झा, परमानन्द दत्त, रामकृष्ण मण्डल, जीवछ अडगरिया, देवनारायण झा (देबु बाबु), जुगेश्वर साह, ज्ञानकुमार तिवारी, सत्यनारायण झा, सीताराम साह, जलन्धर यादव, कपिलेश्वर झा, राजेन्द्र झा, मदन सहगल, रामदिहल पंडित, रामभज्जु मण्डल जस्ता अनेकौं प्रजातन्त्रको लडाइमा आफ्ना तन, मन, धनले लागेका थिए । पार्टी सरकारमा आउँदा पनि यिनीहरूको बिल्कुलै खोजबीन भएन । कहाँ छन् ? कुन अवस्था छन् ? पारिवारिक अवस्था कस्तो छ ? यस्ता अनेकौं प्रश्नहरू पार्टीतिर तेर्सिएका छन् । पार्टीका अगुवाहरू सरकारबाट के कति लिन सकिन्छ त्यतातिर लागेका देखिए ।

यसलेगर्दा नेपाली काँग्रेस बिस्तारै कमजोर हुँदै गयो । आजको अवस्थासम्म आउँदा यदि कम्युनिष्टमा फुटफाट नभएको भए सरकारमा जान त के विपक्षी दलको पनि प्रमुख पार्टी बन्न अपठ्यारै हुन्थ्यो होला । नेपाली काँग्रेस एउटा ऐतिहासिक पार्टी हो । यसले प्रत्येक राष्ट्रिय आन्दोलनमा नेतृत्व प्रदान गर्दै आएको छ । मान्छेलाई किन बितृष्ण जाग्यो ? एउटै मूल कुरो छ कि पार्टीका इमान्दार तथा ऐतिहासिक कार्यकर्ता तथा नेताहरूलाई उपयुक्त ठाउँ भेटेन । उनीहरू पार्टीदेखि दूरी बढाउँदै गए । कुनै पार्टीको कार्यकर्ता नै मेरूदण्ड हुन्छ । जुन पार्टीसँग जति बढी कार्यकर्ता हुन्छन् । ती पार्टीहरू त्यतिकै बलियो देखिन्छन् । तत्कालीन महोत्तरी जिल्लाको पूर्वी संसदीय क्षेत्रको नाम थियो खेस्राहा । खेस्राहामा २०१५ सालको आम निर्वाचनमा खेस्राहाकै माटोमा जन्मेहुर्केका मान्छेलाई टिकट दिनु पर्नेमा नदिई सरोजप्रसाद कोइरालालाई टिकट प्रदान गरियो । यस कामको धुँवाधार विरोध भयो । यस पदको प्रवल दाबेदार थिए–जीबछ अडगरिया । नेपाली काँग्रेसको देशमा उँच लहर चलेको कारणले दुई–तिहाइभन्दा बढी सीटमा जीत हासिल गरेको थियो । त्यस्तै पुनः वामपन्थीको बिगबिगीलाई तथाकथित रूपमा शान्त गर्न स्मृतिनारायण चौधरीलाई टिकट दिइयो । यसरी खेस्राहावासीले नचाहँदा नचाहँदै बाहिरी क्षेत्रबाट उम्मेदवार दिनु भनेको एक प्रकारको खेस्राहाको अपमान नै थियो । अब लेखकले पाठकवर्गलाई शिर्षकमा उल्लेख रहेका कुरासँग जोडेर अगाडि बढ्न चाहन्छ । त्यसबेलाका एक महान क्रान्तिकारी योद्धा थिए जलन्धर यादव ।

निर्गुन यादवको प्रेरणाले जलन्धर यादव पार्टीमा प्रवेश गरेका थिए । पार्टीमा निर्गुन यादव राम र जलन्धर यादव हनुमानको नामले जानिन्थे । जलन्धरले निर्गुनजीको कुरालाई अक्षरसः पालना गर्दथे । जलन्धर यादवको जन्म त्यसबेलाको खेस्राहाको कर्माही तथा हालको विदेह नगरपालिकाको कर्माहीमा जन्मेका जलन्धर यादव सहदेव यादव तथा पार्वती देवीका जेठा सुपुत्र हुन् । उहाँका बुवा एउटा सम्पन्न किसान थिए । हाल उहाँको उमेर ८६ वर्ष कटिसकेको छ तर पनि वहाँ स्वस्थ देखिनु हुन्छ । वहाँ राममनोहर लाहियाको समाजवादी सिद्धान्तसँग नजिक हुनुहुन्छ । वहाँको शुरुको शिक्षा दिक्षा घरमै भएको थियो भने माध्यमिक शिक्षाका लागि भारत बिहारको जटुलियाको माध्यमिक विद्यालयमा पठाइएका थिए । वहाँ माध्यमिक शिक्षासम्म शिक्षा लिइ पढाइ छोड्नु भयो । शिक्षा कम भएपनि सिद्धान्तका अटल योद्धा हुनुहुन्छ जलन्धर यादव जो नेपाली काँग्रेसको आह्वानमा हुने आन्दोलनमा कहिले पनि पछि पर्नु भएन । त्यसबेला राजनीतिमा आउन रूद्रप्रसाद गिरि, सरोजप्रसाद कोइरालाकै हातबाट निर्गुनजीको साथै जलन्धरजीले पनि नेपाल राष्ट्रिय काँग्रेसको सदस्यता लिएका थिए । निर्गुनजीसँगै जलन्धर यादव पनि विपीलाई भेटेर सल्लाह दिएका थिए कि झण्डा बोकेर होइन, हामी बन्दुक बोकेर काम गर्छौं । यिनी दुबै जना जयनगर आए । बन्दुक बोकेर नै यिनीहरू सँगठन गर्न थाले । पार्टीबाट यिनीहरूलाई गोरिल्ला लडाइ सिख्न पटनामा सोसलिष्ट पार्टीका नेता बसावत सिंह जिम्मा लगाइयो र भनियो निर्गुन र जलन्धरजीलाई गोरिल्ला लडाइ लड्ने तरिका, बम, गोलिगठ्ठा, चलाउन र बनाउने प्रशिक्षण के के गराउनु पर्छ गर्नुस् ।

यिनीहरू चार महिनामा बाबइ टे«निंग हलबाट तालिम लिएर पटना बसावत सिंह कहाँ पुगेर आफ्ना तालिमका कुराहरू बताए । यसपछि यहाँहरू आफ्ना गोरिल्ला लडाइ शुरू गर्नुभयो । जितेका सात राइफल गोलिहरू बिना हात हथियारले जितेर ल्याएकोमा विपिबाट बधाई समेत पाए । पटनामा कलकत्ताबाट आएका विद्यार्थीहरूलाई विपिले यहाँहरूका साथ लगाइ दिए । यी विद्यार्थीहरूसँगै निर्गुन र जलन्धरजीले जयनगर आएर सबैभन्दा पहिले खजुरी थाना लुट्ने काम गरेका थिए । यतिकैमा निर्गुन र जलन्धरको नाम जिल्लाभरी शोर भयो । यसपछि रूद्रप्रसाद गिरीको नेतृत्वमा रेल कब्जा गर्ने योजना बनाइयो । नेतृत्वको भनाइ अनुसार नै रेललाई कब्जामा लिएर यात्रीलाई बाहिर निस्कन आग्रह गरियो । गाडीलाई महिनाथपुरबाट खजुरी ल्याइयो । त्यतिकैमा गिरिजी ट्रलीबाट खजुरी आइपुगे । त्यतिकैमा हातमा तलवार लिँदै इन्कलाब जिन्दाबाट, नेपाली काँग्रेस जिन्दाबाद, राणा शाही मुर्दाबाद गर्दै जुलुस लिएर खजुरीका नारायण काजी पनि सामेल भए । यसरी खजुरी थाना र रेल कब्जाको कुरा सुनेर चौकीका प्रहरीहरू आ– आफ्ना गुन्टी गुन्टाहरू लिएर जलेश्वर भाग्न थाले । गिरिजीले निर्गुन र जलन्धरसहित अन्य साथीहरूसँग छलफल गरेर गाडी लिएर जनकपुर पुग्ने निधो गरे । यी सबै व्रmान्तिवीरहरू रेलमा बसेर जनकपुर पुगे । उनीहरू बन्दुक बोकेर व्रmान्तिकारी साथीहरूसँग बजार पुगे । बजारमा यस कुराले निकै स्थान पायो ।

यस आन्दोलनले जनकपुरलाई कब्जा गरेपछि नेपाली काँग्रेसले महेन्द्रनारायण निधिको अध्यक्षतामा जनसरकारको स्थापना ग¥यो । जनसरकारमा निर्गुन र जलन्धरलाई प्रहरी बिभाग हेर्न जिम्मा दिइयो । यसरी राणा सरकार अपदस्त भयो । राजा महेन्द्रलाई नेपाली काँग्रेसले ल्याएको प्रजातन्त्र मन परेन । विस्तारै २०१७ साल पुस १ गते नेपाली काँग्रेसमाथि पुनः प्रतिबन्ध लगाइयो । काँग्रेस पुनः प्रवासमा बसेर राजाको तानाशाही कदमको विरोधमा आवाज उठाउन थाले । राजाले विदेशका सरकारसँग पनि आफ्नो सम्बन्ध जोडिसकेका थिए । यता विपि कोइराला र जवाहरलाल नेहरूको बीचमा व्यक्तित्व प्रतिस्पर्धाले गर्दा जवाहरलाल नेहरू विपिलाई भित्रै भित्रै विरोध गरि रहेका थिए । जवाहरलाल पछि वहाँकै छोरी इन्दिरा गाँधी भारतका प्रधानमन्त्री भइन् । वहाँसँग अझ कुरा मिलेन । पछि विपिले भारतमा नेपाली काँग्रेसको अवस्था सुरक्षित नदेखेर मेलमिलापका नारासहित नेपाल प्रवेश गरेका थिए । प्रवेश हुँदै धरपकड हुन थाल्यो । देशभित्रै बसेर संघर्ष गर्न थाले । राजामाथि पनि प्रेसर पर्न थाल्यो । राजा वीरेन्द्रले जनमत संग्रह गराएर यसलाई छिनोफानो गर्न चाहन्थे । पुनः दरबारिया खडयन्त्रले गर्दा सुधारिएको पञ्चायत व्यवस्थालाई जिताइयो । यसको विरुद्ध पुनः आन्दोलन चर्कियो र २०४६ सालमा पुनः प्रजातन्त्र फर्कियो । त्यतिकैमा २०७० सालतिर निर्गुनको देहावसान भयो ।

यस घटनाले गर्दा जलन्धरजी निकै मर्माहत भए । वहाँ निर्गुनबिना आफुलाई टुहुरो जस्तो महसूस गर्न थाले । नेपाली काँग्रेसले राणा विरोधी आन्दोलनदेखि गणतान्त्रिक आन्दोलनसम्म लडेको लडाइमा जलन्धरजी निरन्तर रूपमा जनताका लागि लड्दै रहे । वहाँ कहिले पनि विराम लिनु भएन । वहाँसँग कुरा हुँदा अहिलेको गणतान्त्रिक व्यवस्थामा पार्टीका नेतादेखि कार्यकर्तासम्मको व्यवहारलाई हेर्दा निकै दुःख पोख्नु हुन्छ । वहाँको के भनाइ छ भने हामीले संघर्ष गरेर ल्याएको प्रजातन्त्रको उद्देश्य विपरीत आजका काँग्रेस गइराखेकोले बढी दुःखी छु । वहाँलाई आफ्नो जीवनमा पार्टीलाई दिएको योगदान वापत पार्टीले ‘प्रजातन्त्र सेनानी’ को सम्मानबाट सम्मानित गरेको छ । वहाँलाई सम्मान गर्ने संस्थाको नाम हो ‘नेपाल प्रजातन्त्र सेनानी संघ’ । यो सम्मान– पत्र २००७ सालको प्रजातन्त्र प्राप्ति र २०१७ सालमा गुमेको प्रजातन्त्र पुनःप्राप्तिको आन्दोलनमा पु¥याउनु भएको योगदानलाई कदर गर्दै ६५ औं प्रजातन्त्र दिवसको पावन अवसरमा वहाँलाई यो प्रमाणपत्र तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको हातबाट प्रदान गरिएको थियो । वहाँलाई यस्तो उच्च सम्मानबाट सम्मानित गर्नु भनेको विगतको इतिहासलाई जिवन्तता दिनु हो । वहाँ ५ सन्तानका पिता खेतीपाति हेर्न नसकेर गाउँबाट जनकपुरमै आएर आफ्ना कान्छो छोरो दिपेन्द्र यादवसाथ आफ्नो जीवनको उतराद्र्ध समय विताइ रहनुभएको छ ।

वहाँसँग कुरा हुँदा वहाँले आफूले गरेको कामबाट मलाइ अलिकति पनि पश्ताचाप छैन । म आफूलाई प्रजातन्त्र प्राप्तिमा लगाएको श्रम र शक्तिबाट शतप्रतिशत सन्तुष्ट छु । प्रजातन्त्र पुनर्वहाली पश्चात् पार्टीका नेताहरू ठूल्ठूला पदमा बसेर निकै धन आर्जन त गरे होलान् तर यस्तो सम्मान पत्रले आफूलाई निरन्तर सन्तुष्टि पाइरहने कुरा अरू हुनै सक्दैन । यसरी आफ्ना जीवनका हरेक क्षण तथा हरेक पलहरू प्रजातन्त्र र समाजवाद प्राप्तिका लागि नेपाली काँग्रेसलाई नै जीवन समर्पण गरेका छन् । नेपाली काँग्रेसका प्रत्येक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका जलन्धर यादव जस्तो व्रmान्तिकारी योद्धा प्रति कोटी कोटी नमन । इतिश्री ।

Comment


Related News