अपडेट 
२०८० जेष्ठ २५, बिहीबार ०७:३४

धनुषाको मिथिला नगरपालिकामा तालाबन्दी गरिएको छ । ढल्केवर आकस्मिक स्वास्थ्य चौकीमा भर्ना गर्न लागिएको कर्मचारीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरिएको छ । केही कार्यपालिका सदस्य/स्थानीयले नगर प्रमुख महेन्द्र महतो, उपप्रमुख सुनिता सिंह बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

यसअघिको कार्यापालिका सदस्यहरुले बनाएको ‘ प्राविधिक कर्मचारी सेवा करारमा राख्ने कार्यविधि, २०७७’ माथि पुनः छलफल गरेर भर्ना प्रकृया अगाडि बढाउनुपर्ने उनीहरुले माग गरेका छन् । पालिकाले सुरु गर्न लागेको आकस्मिक स्वास्थ्य केन्द्रमा बुधबार आवेदनपछि छनोट भएका उम्मेदवारहरुलाई अन्तरवार्ताका लागि समय दिइएको थियो । तर, पालिकाको प्रमुख प्रशासकीय अधिकृत न्यौपानले मंगलबार सूचना जारी गर्दै अन्तरवार्ता स्थगित गरिएको जानकारी गराएका थिए ।

यद्यपि अन्तरवार्ताका लागि सो समय यही जेठ १७ गते कार्यपालिकाको बैठक निर्णय गरी तोकेका थिए । पालिकाले ०७९ असोज १२ गते विभिन्न पदका ९ जना प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । मेडिकल अधिकृत दुई जना, ल्याब टेक्नोलोजिष्ट एक, अनमि चार र स्वीपर २ जना भर्ना गर्नको लागि आवेदन दिएको थियो । पालिकाले यस विषयमा कर्मचारीको लागि बजेट र अस्पतालमा लाग्ने स्वास्थ्य सामग्रीसमेतको व्यवस्था गरिसकेका छन् । यस विषयमा नगर प्रमुख महेन्द्र महतोले स्थानीयको माग वास्तविक रहेको स्वीकार गरे । केही दिनभित्रै कार्यापालिका बैठकबाट यसको निकास खोजिने उनले बताए ।

तालाबन्दी गर्ने निकायसँग उनले प्रशासनको ताला खोल्न अनुरोध पनि गरे । सबै पक्षलाई समेटेर उचित निर्णय अनुसार कर्मचारी भर्ना गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘तालाबन्दी गर्नुभएको स्थानीयसहित कार्यपालिका सदस्यहरुको पनि पवित्र भावना छ । उहाँहरुको केही माग जायज छ । स्वास्थ्य चौकी राम्रो बनाउनुपर्छ भन्ने माग छ,’उनले भने,‘त्यसकारण हामी छलफल गरेर भर्ना प्रकृया अगाडि बढाउछौं ।’ आकस्मिक सेवा सबै जनतालाई दिन सहज रुपमा दिने आधारमा काम सुरु गरेको उनले बताए ।

विवादरहित वातावरण भएपछि भर्ना प्रकृया अगाडि बढाइने उनले जनाए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानले विवाद सुरुदेखि नै रहेको बताए । पालिकामा आफूलाई आएको डेढ महिनामात्रै भएको भन्दै उनले पञ्छिन खोजे । चालु साताभित्रै कार्यापालिका बैठकबाट विवाद समाधान गर्ने उनले जानकारी दिए । ‘विवाद देखिएको छ । हामी समाधान गर्ने तयारीमा छौं,’उनले भने,‘कार्यपालिका बैठकबाट एउटा निर्णय हुनेछन् । सोही अनुसार अन्य प्रकृया अगाडि बढाइने छन् ।’

Comment


Related News

Latest News

Trending News