अपडेट 
२०८० जेष्ठ २५, बिहीबार ०७:३७

महोत्तरीको जलेश्वरमा जारी रहेको ६ दिने संसारीमाई पूजाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा अश्लिल गीत नृत्य प्रदर्शन गरिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

युवाहरुको एक समूहले बुधबार जलेश्वरको विभिन्न चोकमा टायर बालेर अश्लिल प्रदर्शनको विरोध गरेका छन् । पाँचवर्षीय संसारी माता महापूजा महोत्सवमा मंगलबार राति संस्कृति कार्यक्रमको नाममा आयोजकले टिकटकको माध्यमले समाजमा अश्लिलता फैलाइ रहेकी नृत्यांगना प्रीती पासवानलाई अश्लिल गीतमा नृत्य गराएपछि युवाहरुले विरोध गरेका छन् । विरोधमा उत्रेका युवाहरुले जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार ,पूजा व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

धार्मिक एवं आस्थाको केन्द्र मानिएको जलेश्वरमा महापूजा महोत्सवको नाममा आयोजकले मनोरञ्जन कार्यक्रमको अश्लिलता प्रदर्शन गराउनु निन्दनीय रहेको स्थानीय युवा सुमन चौधरीले बताए । मेलामा संस्कृतिक कार्यक्रम गर्ने जिला प्रशासन कार्यालय महोत्तरीबाट अनुमति पाएको पूजा आयोजक समितिले अश्लिल गतिविधिलाई प्रश्रय दिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी अर्का युवक राजेश साहको छ । यता जिल्लामा मेला महोत्सवमा आरकेस्ट्रालगायत अश्लिल कार्यक्रम पूर्ण रूपले निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन् । समितिलाई मेलामा संस्कृतिक कार्यक्रम गर्न अनुमति दिएको र यस्ता गतिविधि संचालन भए तत्कालै रोकिने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले प्रष्ट् पारे।

Comment


Related News

Latest News

Trending News