अपडेट 
२०८० जेष्ठ २६, शुक्रबार ०६:३९

अत्यधिक गर्मीका कारण मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाइ चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या उत्पन्न भएको छ । खास गरी धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा यो समस्या देखिएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको बताइन्छ ।

जनकपुरधाममा ४५० फिटमा जडान भएको चापाकलमा पनि पानी आउन बन्द भएपछि सर्वसाधारणहरू थप समस्यामा परेका छन् । जनकपुरधामको वडा नं २ शिव चोकका अशोक दासले अहिले चापाकलमा पानी आउन छाडेपछि पानी किनेर खाने गरेको बताउँदै शौचालयमा पोखरीको पानी प्रयोग गर्नु परेको बताए । लामो समयसम्म वर्षा नभएका कारणले वडाका धेरै चापाकलहरु सुकेको उनले बताए । जनकपुरधामको गंगासागरमा रहेको डिप बोरिङ पनि सुकेको छ । विगत चार दिन देखि सो डिप बोरिङमा पानी आउन बन्द भएपछि यस क्षेत्रका हजारौँ व्यक्तिहरूलाई खानेपानीको समस्या भएको अधिवक्ता राजकुमार महासेठले बताए । जनकपुरधामको घना वस्ती भएका अधिकांश ठाउँको चापाकलहरुमा पानी आउन बन्द भएको छ ।

यस्तै अवस्था रहेको खण्डमा आगामी दिनमा जनकपुरधाममा खानेपानीको थप जटिलता उत्पन्न हुने छ । प्रदेश सरकारले जनकपुरधाममा भएका कतिपय पोखरीहरूको पक्की घाटको निर्माण गरेका कारणले पानीको रिचार्जमा पनि समस्या उत्पन्न भएको वातावरण संरक्षण अभियानी सुरेश शर्माले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News