अपडेट 
२०८० जेष्ठ २६, शुक्रबार ०६:४३

मधेश प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफल विहीबारदेखि प्रदेशसभामा सुरु भएको छ ।

बिहीबार नीति कार्यक्रममाथिको छलफलमा बोल्दै सांसदहरुले कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । सत्तापक्षका सांसदहरु पनि समग्रमा नीति तथा कार्यक्रम राम्रो भएको तर कार्यान्वयन पाटोलाई मजबुत बनाउने कुरा नसमेटिएको बताएका थिए । सांसदहरुले थरी थरीको सुझाव, टिप्पणी र धारणा राखेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपनेता दीपेन्द्र ठाकुरले सरकारको नीति तथा कार्यक्रममा विभेद झल्किएको बताए । छोरीलाई मात्रै ल्यापटप दिएकोतर्फ संकेत गर्दै छोरासंग विभेद गरिएको उनले बताए । ‘छोरीलाई एउटा ल्यापटप दिनुभन्दा हामी यति साक्षर बनाइदेउ की छोरीले दश वटा ल्यापटप अरुलाई दिओस्,’उनले भने,‘यस्तो नीति हामी कहिले ल्याउने?’ मन्त्रिपरिषद्मा महिला सहभागिता सम्मानजनक नभएको भन्दै उनले महिलामाथि सरकारले नै अंकुश लगाएर राखेको बताए । प्रदेश राजधानीको पोखरी र मन्दिरलाई सम्बोधन हुने गरी सरकारले नीति तथा कार्यक्रममा समावेश नगरेको उनको भनाइ छ ।

लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का सांसद जयनुल राइनले पनि कार्यान्वयनमा शंका गरे । नीति तथा कार्यक्रममा उल्लेख गरिएको बुंदाहरु पर्याप्त नभए पनि राम्रै रहेको उनले बताए । सत्तारुढ नेपाली कांग्रेसका सांसद श्याम पटेलले मधेश विश्वविद्यालयको स्थापना भएको लामो समय भए पनि पठ्नपाठ्ननभएको र सो विषयमा नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको उनले बताए । ‘विश्वविद्यालय धेरै उत्साहका साथ स्थापना भयो । कर्मचारी, कुलपति, उपकुलपति र रजिष्टार नियुक्त भयो,’उनले भने,‘तर पढाइ भएन् । यस विषयमा नीति तथा कार्यक्रममा केही उल्लेख गरिएको छैन् ।’ नीति तथा कार्यक्रम राम्रो भए पनि हतारमै बनाएको उनले बताए । नीति तथा कार्यक्रममा पर्यटनसहित धेरै विषयवस्तु छुटाइएको उनले औँल्याए । सो विषयवस्तु नीति तथा कार्यक्रममा समेटिएर आगामी बजेटमा ल्याउन उनले धारणा राखे ।

जनमत पार्टीका सांसद चन्दन सिंह कुशवाहाले अपाङ्गको लागि पनि केही योजना राख्ने उनले माग गरे । पालिका स्त्तरमा ब्लड बैंक राख्न उनले माग गरे । कृषि भण्डार र औजार सेन्टर वडा वडामै हुनुपर्ने उनले बताए ।

Comment


Related News