अपडेट 
२०८० जेष्ठ २७, शनिबार ०५:४८

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. रामकेवल साहप्रति मधेश प्रदेशका मुख्यमन्त्रीसहितका विशिष्ठ व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

क्यान्सर रोगको उपचारको क्रममा ६९ वर्षीय डा. साहको भारतको एनसीआरमा पर्ने गुडगाउँ स्थित नारायणा अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान ३ बजे निधन भएको थियो । भारतबाट डा. साहको पार्थिक शरीरलाई जनकपुरधाम ल्याई प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो । त्यहाँ मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव, मधेश सरकारका मन्त्रीहरु वीरेन्द्र सिंह, सुरिता साह, संजय यादव, जनकपुरधाम उपमहानगरपालिकका मेयर मनोज कुमार साह, पूर्वमेयर लालकिशोर साह, वृषेशचन्द्र लाल, सबैला नगरपालिका प्रमुख कारीराम यादव, पूर्व सांसद प्रमोद साह, एमाले नेता शिवशंकर साह हिरा, जसपा नेता बलराम महतो समाजसेवी ई.सत्यनारायण साह, वरिष्ठ चिकित्सक हुकुमदेव साह, वरिष्ठ चिकित्स तथा स्व. साहका सहयात्रीहरु, प्रतिष्ठान र प्रादेशिक अस्पतालका पदाधिकारी, चिकित्सक नर्स तथा कर्मचारीहरुसहित जनकपुरधामका अगुवाहरुले डा. साहको पार्थिक शरीरमा पुष्प अर्पणसहित श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

करीब दुई दशक देखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक ट् यांकका रुपमा काम गर्दै प्रथम मधेश सरकार बनेपछि मधेशको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेश सरकारको स्वास्थ्य सल्लाहकार हुँदै प्रतिष्ठानको उपकुलपति बनेर सेवा गरिरहेका डा.साहको निधनले मधेश शोकाकुल छ । मधेश मुद्दाका अगुवाहरुले उनको निधनमा शोक ब्यक्त गरिरहेका छन् । केही समययता कलेजो सम्बन्धी रोगका कारण स्वास्थ्य स्थिति गम्भीर भएपछि डा. साहलाई उपचारका लागि भारत लगिएको थियो । नेपाल मेडिकल कलेजमा लामो समय अध्यापन गरेका प्राध्यापक डा.साह सेवा निवृत्त भएलगत्तै प्रतिष्ठानका उपकुलपतिमा नियुक्त भएका थिए ।

यसअघि अर्थोपेडिक्स सर्जन डा.साह केही वर्ष सरकारी सेवामा संलग्न रहेका थिए । २०२६ सालमा जनकपुरधामस्थित सरस्वती मा.वि.बाट प्रवेशिका परीक्षा उतीर्ण गरेका डा. साह सो परीक्षामा देशभरिमै तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । कक्षा आठसम्म भने उनी आफनो जन्मथलो धनुषाको सबैला छेउ रघुनाथपुरको फकिरचन्द गामी उच्चा मा.वि बरकुर्वा स्थित विद्यालयमा अध्ययन गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पसबाट आएससी अध्ययन गरेका डा.साह भारतको मेरठ मेडिकल कलेजबाट एमबिबीएस र एमएस पढेका थिए । बेलायतको लिभरपुलबाट एमसीएचमा स्वर्णपदक प्राप्त गरेका उनी पछिल्लो समय मधेशको हकहितको विभिन्न सन्दर्भमा थिंक ट्यांकका रुपमा काम गर्दै आएका थिए । उनको दुई छोरा र श्रीमती छन् ।

Comment


Related News

Latest News

Trending News