
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जलेश्वरमा मणिपाल कलेजको निर्माण नभएकोमा दुःख व्यक्त गरेका छन्।
सदरमुकाम जलेश्वरमा अम्बिका हस्पिटल एनड रिसर्च सेन्टरको उद्घाटन गर्दै उनले मणिपाल कलेज निर्माणको योगदानकर्ता नेपाली कांग्रेस भए पनि लामो अवधि वितिसक्दा पनि निर्माण नहुनु दुःखद रहेको बताए । आफू मधेश प्रदेशको प्रमुख भए पनि महोत्तरी आफ्नो गृहनगर भएकाले बढी चासो र चिन्ता हुने गरेको बताउँदै प्रदेश प्रमुख मिश्रले भने, “महोत्तरीको विकासमा म सदैव सकारात्मक छु।” जलेश्वरमा दुई दशकदेखि मणिपाल इन्जिनियरिङ कलेज निर्माणको चर्चा चले पनि अहिलेसम्म निर्माण हुन सकेको छैन। यस क्षेत्रका वासिन्दाले जलेश्वरको विकासका लागि मणिपाल गु्रपलाई सस्तो दरमा जग्गा दिए पनि सो ग्रुपले अहिलेसम्म कलेज निर्माण सुरु गरेको छैन। जलेश्वरमा निजी क्षेत्रको अस्पताल हुनु मेडिकल क्षेत्रका लागि राम्रो भएको बताउँदै उनले जलेश्वरको विकासमा यो अस्पताल एउटा कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे। अस्पतालले इमर्जेन्सीसहित अर्थो, गाइनो, एसएनसियुलगायतका विविध स्वास्थ्य सेवा दिने जनाएको छ।