अपडेट 
२०८० जेष्ठ २८, आईतवार ०६:२४

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवाबाट फरार ६ जना मध्येका एक अभियुक्त भारतबाट पक्राउ परेका छन् । उनीहरु ०७९ माघ १५ गते फरार भएका थिए । धनुषा प्रहरीको निरन्तरको सक्रियता र खोजतलाशको क्रममा फरार भइ भारतमा बस्दै आएका अभियुक्त क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले शनिबार बिहान भारतको बिहारको सीतामढीबाट महोतरीको औरही बजारबाट फरार अभियुक्त यादवलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार रोशन सार्वजनिक शान्ति विरुद्धको अपराधको मुद्दामा थुनुवामा रहेको जानकारी दिए । माघ १५ गते फरार भएका ६ जना अभियुक्त मध्ये पाँच अभियुक्त १५ दिन भित्रै पक्राउ परेको र ती सबै अभियुक्तहरु नेपालबाट पक्राउ परेको उनले बताए । रोशन फरार भइ भारततर्फ रहेको उसलाई ट्रेस गर्दै लगायतको मिहिनेतले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक खड्काले स्पष्ट पारे । रोशन भारततर्फ भाग्न सफल भएकोले पक्राउ पर्न केही समय लागेको उनको कथन छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख भइ आएदेखि एक दुई नभइ सयौं फरार अभियुक्त पक्राउ परेको दाबी गर्दै उनले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभिन्न मुद्दाका ७ सय ९ जना अभियुक्तहरु पक्राउ परेको जानकारी दिए । यस अघि आर्थिक वर्ष ०७८/०७९ मा भने जिल्ला १ सय ८३ जना फरार अभियुक्त पक्राउ परेका थिए । माघ १५ गते खाना खाएर सुतेका ६ जना अभियुक्तहरु मध्यरातमा पर्खाल भत्काएर फरार भएका थिए । फरार हुनेहरुमा लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरि विक तथा हातहतियार खरखजाना मुद्दाका रोशन महतो र शंकर सहनी फरार भएका थिए ।

थुनुवाबाट एकै पटक ठूलो संख्यामा अभियुक्तहरु फरार भएपछि धनुषा प्रहरी आलोचनाको पात्र बनेको थियो भने अहिले धनुषा प्रहरीले गरेको कामलाई ठूलो सफलताको रुपमा देखिएको छ ।

Comment


Related News

Latest News

Trending News