अपडेट 
२०८० जेष्ठ २९, सोमबार ०५:३५

पर्साको वीरगन्ज महानगरपालिका–१० मा रहेको मूख्य नालाबाट ठूलो परिमाणमा गोली बरामद भएको छ ।

आइतबार बिहान ९ बजेको समयमा नाला सफाइको क्रममा विभिन्न ठूला–साना हतियारमा प्रयोग हुने १ सय २ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वर्षौदेखि सफा हुन नसकेको नालालाई वीरगन्ज महानगरपालिकाको जेसीबी प्रयोग गरी सफा गर्ने क्रममा हिलोको लेदोमा शंकास्पद प्लाष्टिकको झोला फेला परेको थियो । सो झोला फेलापरेपछि सफाइका कर्मचारीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै आदर्शनगर प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको पर्साका प्रहरी उपरीक्षक(एसपी) कमल शाहले जनाएका छन् । स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त प्लास्टिकको झोला खोलेपछि विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १ सय २ राउण्ड गोली बरामद गरिएको एसपी शाहले जनाए । उनकाअनुसार हर्नेटको गोली १७ राउण्ड, एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरलको ८ राउण्ड, विनचेस्टरको ५ राउण्ड, ७ एमएमको १ राउण्ड, बिग्रेको खोखा ४ राउण्ड बरामद भएको छ । ‘बरामद भएका गोलीहरु अत्यन्त पुरानो रहेको र सोमध्ये अधिकांश बिग्रिसकेको छ’ शाहले भने,‘यो अत्यन्त पुरानो नाला हो यसको वर्षौदेखि सफाइ भएको छैन र हिलोको लेदोबाट फोहरमा रहेको झोला भित्र राखिएको गोली बरामद भएको छ ।’ गोली बरामद भएपछि तत्काल प्रहरी परिचालन गरी बिहानदेखि बेलुकीसम्म दिनभरि खोजतलास समेत गरिएको तर आसपासको दुई तीन सय मिटरमा केही पनि फेला नपरेको उनले बताए ।

बरामद गरिएका गोलीहरु मध्ये चेक जाँच गरी लाइभ (जीवित) गोलीहरुलाई कानुनी प्रक्रिया अनुसार बरामदगीमा राखिने र खिया लागेर बिग्रिसकेका गोलीहरुलाई नष्ट गरिने एसपी शाहले बताए । उनले घटनाको अनुसन्धान जारी रहेको बताए । प्रहरीका अनुसार माओवादी द्वन्दको बखत नालामा गोली फालिएको हुने अनुमान छ । प्लाष्टिकको थैलामा राखेर गोली नालामा फालिनु त्यसको फेरि प्रयोगका लागि नभै अबैध हातहतियार मुद्दाबाट जोगिन फालेको हुन सक्ने प्रहरी अधिकारीहरुको अनुमान छ ।

Comment


Related News

Latest News

Trending News