अपडेट 
२०८० जेष्ठ २९, सोमबार ०५:५४

तीन दिन अघि सेवाबाट हटाइएका राजविराज नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रेका छन् ।

मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखि लागु हुने गरी एकैसाथ ६९ कर्मचारीलाई हटाएको थियो । आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै सेवाबाट हटाइएका कर्मचारीहरु कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका थिए । उनीहरुले आफूहरुसँग कुनै छलफल र जानकारीसमेत नदिइ एक्कासी सेवाबाट हटाइएको सूचना जारी गरेर नगरपालिकाको व्यवस्थापन पक्षले अन्याय गरेको बताएका छन् । धर्नामा बसेकी अर्निका कुमारी यादवले पुनःनियुक्ति नगरेसम्म धर्ना जारी रहने बताइन् । उनी विगत ८ वर्षदेखि नगरपालिकाको सामाजिक शाखामा मासिक ज्यालादारीमा कार्यालय सहायक पदमा काम गर्दै आएकी थिइन् । सेवाबाट हटाइएका मध्ये २० वर्षदेखि मासिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीसमेत परेको धर्नामा बसेका अर्का पूर्वकर्मचारी लव मण्डलले सुनाए । उनी ६ वर्षदेखि नगरपालिकाको बिजुली सडकबती फाँटमा कार्यरत थिए ।

२० वर्षदेखि मासिक ज्यालादारीमै काम गर्दै आएका सत्रुधन यादवले एक्कासी सेवाबाट हटाउँदा बिचल्लीमा परेको गुनासो पोखे । “अब अर्को ठाउँमा जागिर गर्ने उमेर पनि रहेन, उनले भने, नगरपालिकाको पछिल्लो निर्णयले घर न घाटको बनाएको छ ।” उनले पुनः नियुक्ति नगरिए आन्दोलनको थप सशक्त कार्यक्रम लिएर अघि बढ्ने तयारी भइरहेको जानकारीसमेत दिए । यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समिति राजविराजले प्रेस विज्ञप्तिमार्फत कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । समितिका अध्यक्ष कल्पना देवद्वारा जारी विज्ञप्तिमा नगरपालिकाको सो निर्णयको घोर भत्र्सना गर्दै नगरपालिकाबाट सहज, सरल र छिटो छरितो सेवा प्रदान गर्न तथा लामो समयदेखि काम गरेका कर्मचारीको जीवनयापनको खयाल गरी अविलम्ब सेवाबाट हटाइएका कर्मचारीहरुको पुनःनियुक्ति हुनुपर्ने माग गरिएको छ ।

यस्तै, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव तथा निवर्तमान वडा नं. ६ का अध्यक्ष प्रेम कुमार यादवले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाद्वारा सेवाबाट हटाइएका कर्मचारीहरुलाई अविलम्ब बहाली गर्नुपर्ने माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News