अपडेट 
२०८० जेष्ठ २९, सोमबार १२:०५

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार १८१ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। मनसुनबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसले बताएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतको त्यस समितिले मनसुनजन्य गतिविधिबाट मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको छ।

मधेस प्रदेशमा ४ लाख ३ हजार १८० जना प्रभावित हुने समितिको आकलन छ।

त्यसपछि कोशी प्रदेश प्रभावित हुने अनुमान गरिएको छ। कोशी प्रदेशमा ३ लाख १ हजार १४३ जना प्रभावित हुने समितिले अनुमान गरेको छ।

यस वर्षको मनसुनजन्य गतिविधिबाट मधेसमा ९२ हजार २६१ घरधुरी प्रभावित हुने अनुमान छ। कोशीमा ६८ हजार ९११ घरधुरी र लुम्बिनी प्रदेशमा ४५ हजार ७३५ घरधुरी प्रभावित हुने अनुमान छ।

समितिको १८ औं बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० पनि स्वीकृत गरेको छ ।

कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस लगायत गैरसरकारी संस्थाहरूको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीहरूको मौज्दातीको विवरण समेटिएको समितिले बताएको छ।

विपद् पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक–एकवटा रहने व्यवस्था गरिएको बताइएको छ।

त्यस्तै समितिले स्वयंसेवक प्रणालीको पनि प्रबन्ध गरेको छ। जसमा हालसम्म एक लाख ४२२ जना सूचीकृत भइसकेको समितिले बताएको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरेको छ। सरदरभन्दा कम पानी पर्ने भएकोले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ ।

सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने संभावना रहेको बताएका छन्। नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।

विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा २० जिल्ला देखिएका छन्। तिनमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेको प्राधिकरणले बताएको छ।

त्यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने २२ जिल्ला छन्। जसमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएको बताइएको छ।

Comment


Related News

Latest News

Trending News