
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको पनि मतदाता नामावली सङ्कलन गर्ने भएको छ । राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी नामावली सङ्कलनको काम आगामी साउन १ देखि गरिने जानकारी गराएका हुन् ।
त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने तयारी आयोगको रहेको थपलियाले बताए ।
त्यसपछि सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्तिको फोटो र औँठाछाप सङ्कलन गर्ने आयोगले जनाएको छ । पहिलो चरणमा खाडी मुलुकहरू युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली सङ्कलन गर्ने तयारी निर्वाचन आयोगको रहेको प्रमुख आयुक्त थपलियाको भनाइ रहेको छ ।
थपलियाले भने, ‘कूटनीतिक नियोगकै एक कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने, विदेशमा रहेकालाई सम्बन्धित देशबाटै मताधिकारको व्यवस्था छैन । यस सम्बन्धी कानुन आउँदा नामावली यो हो भन्दा सहज हुने बुझाइका साथ आयोगले यस्तो आन्तरिक तयारी गरेको हो ।’