अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार ०६:४४

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न चोक,बजार र राजमार्गमा क्षेत्रमा राखिएका सिसिटिभी क्यामरा बिग्रिएर काम नलाग्ने भएको छ । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको धनुषाको विभिन्न सार्वजनिक स्थलमा राखिएको सिसि क्यामरा मर्मत गर्ने, नयाँ जडान गर्ने कुनै प्रयास भएको देखिएको छैन ।

करीब चार वर्ष अगाडि जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकारको बजेटबाट धनुषा जिल्लाको विभिन्न स्थानमा २ सय ४० वटा सिसिटिभी क्यामरा जडान गरिएको थियो । सो मध्ये १ सय ६ वटा क्यामरा बिग्रेर काम नलाग्ने भएको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिकाको मुजेलियामा जडान गरिएको चार,भ्रमर पुरा चोकको चार,बसपार्कको पाँच,शिव चोकको ४,कदम चोकको १०,जनक चोकको दुई,रामानन्द चोकमा राखिएको तीन गरी ३२ वटा सिसिटिभी क्यामरा बिग्रेर काम नलाग्ने भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै,जनकपुर ढल्केबर सडक खण्ड तथा महेन्द्रनगर क्षेत्रमा जडान गरिएको ३३ वटा क्यामरा बिग्रेर काम नलाग्ने भएको छ भने १ सय ३४ वटा क्यामरा अझै पनि चालु अवस्थामा रहेको बताइएको छ ।

त्यसैगरी,सिसि क्यामराको दृश्यावलोकनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको कन्ट्रोल रुममा राखिएको एलइडी विग्रेकोसमेत लामो समय वितिसक्दा पनि कुनै निकायको ध्यानाकर्षण हुन सकेको छैन । सुरक्षाको दृष्टिकोणले संवेदनशील जिल्लाको रुपमा रहेको धनुषा जिल्लाको सिसि क्यामराको यो हालत हुनुले सुरक्षा जस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम वेवास्तालाई झल्काएको जनगुनासो छ । सडक एवम् सार्वजनिक थलोमा हुने कुनै प्रकारको घटनाको प्रमाण तयार गर्न सक्ने सिसिटिभी क्यामरा नै काम नलाग्ने भएपछि हाम्रो ‘आँखा’नै कमजोर भएको महसुस भइरहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

‘सिसि क्यामराको सहायताले सीमा क्षेत्रमा हुने तस्करी,अपराधिक व्यक्तिहरूको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्छ । तर यहाँको आधि जति सिसिटिभी क्यामरा बिग्रेकोले सो क्षेत्रको सुरक्षा व्यवस्थापनमा झनै चुनौती थपिएको प्रहरी उपरीक्षक खड् काले प्रष्ट पारे । अपराधिक गतिविधि नियन्त्रणमा सिसि क्यामरा महत्वपूर्ण भएको हुँदा जनकपुरधाम उपमहानगरपालिकाले केही दिन अघि २ लाख ५० हजारको लागतमा सिसिटिभी कन्ट्रोल रुमका लागि ब्याट्री ब्याकअपका लागि १० वटा ब्याट्रा प्रदान गरेको मेयर मनोज कुमार साहले जानकारी दिए । अहिले क्यामरा मर्मत शीर्षकमा कुनै रकम नरहेकोले चालु आर्थिक वर्षमा सिसिटिभी क्यामराको लागि केही गर्न नसकिने तर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै मर्मत सम्भारको लागि बजेट विनियोजन गरिने प्रतिबद्धता उनले व्यक्त गरे । विग्रिएका सिसि क्यामरा मर्मत गर्नुभन्दा गुणस्तरीय क्यामेरा खरिद गरेर जडान गर्नेतर्फ प्रयास भइरहेको उनले बताए ।

\क्यामरा विग्रिदा, घटना भएपछि पनि कारबाही गर्ने आधार प्रमाण नै नरहने गरेकोले केही घटनाको अन्ुसन्धानमासमेत समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । यता नगर क्षेत्रमा सिसि क्यामरा आवश्यक रहेकोले यसको तत्काल मर्मत गर्नुपर्ने मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरको कथन छ । सुरक्षाको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण टुलको रुपमा रहेको सिसिटिभी क्यामराको व्यवस्थापनका लागि प्रदेश सरकारले तत्काल कदम चाल्नुपर्ने उनले बताए । ‘क्यामेरा जडान गर्नु नै ठूलो कुरा होइन,’ उनले भने, ‘जडानसँगै मर्मतका लागिसमेत स्रोत चाहिन्छ । त्यसको पनि जोहो हुनैपर्छ ।

Comment


Related News

Latest News

Trending News