
बालश्रम गर्ने गराउनेमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ ।
बाल श्रम विरुद्धको दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जनकपुरधाममा सोमबार आयोजित जनचेतनामूलक कार्यक्रमका वक्ताहरुले सो माग गरेका छन् । कार्यक्रममा सहभागी विभिन्न वार्डका वडा अध्यक्ष,सामाजिक अभियन्ताहरुले जनकपुरधामको पसल पसलमा बालश्रमिक काम गरिरहेको बताउँदै बाल श्रमिक राख्नेहरुमाथि कडा कारबाही गर्नुपर्ने माग गरे ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले देशभरिमा अझै पनि ११ लाख बालबालिका श्रमको शिकार भएको र यो देशको लागि दुर्भाग्यपूर्ण अवस्था हो बताए । धनुषा जिल्लाभरिमा बाल श्रमिक नराख्न कडा निर्देशन दिएको र निर्देशन नमान्ने व्यापारी व्यवसायीलाई कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले बाल श्रम गरेको देखेपछि जो सुकैले पनि प्रहरीलाई खबर गरे दोषीलाई कारबाही गरिने बताए । अहिले दर्जनौको संख्यामा नाबालिक प्रेमी जोडीको समस्या दिनहुँ जिल्ला प्रहरी कार्यालयमा आउने गरेको जानकारी दिँदै उनले भने,‘नाबालिकहरु प्रेममा फँसेर जीवन वर्वाद गरिरहेका छन् यसमा अभिभावकहरु पनि चिन्तित हुनसक्नुपर्छ ।’ त्यस्तै चोरीलगायतको घटनामा पक्राउ पर्ने अधिकांश व्यक्तिहरु लागूऔषध दुव्र्यसनमा परेको देखिएको बताउँदै उनले बालबालिकाहरुलाई लागूऔषधको दुव्र्यसनमा नपर्न आग्रह गरे । लागूऔषधको प्रयोगले जीवन नै नष्ट हुने भएकोले यसप्रति सानै उमेरदेखि सचेत हुनुपर्ने आवश्यकता उनले औंल्याए ।