
राजविराज नगरपालिका– ६ की एकल महिला ४० वर्षीया कविता मिश्रलाई बोक्सीको आरोपमा कुटपिट गर्ने छिमेकी रामकुमार यादवलाई सप्तरी जिल्ला अदालतले १५ दिन कैद, १५ हजार क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार उक्त मुद्दामा अन्तिम सुनुवाइ गर्दै रामकुमारलाई उक्त कैद र जरिवाना फैसला सुनाएको छ । कुटपिटमा सघाएको आरोप लागेका उनका परिवारका सदस्य रामअधिन यादव, पंचीदेवी यादव, उमेश यादव, राजेश यादव र रमेश यादवलाई भने अदालतले सफाइ दिएको छ ।
जिल्लामा बोक्सीको आरोपमा कुटपिटका दोषीलाई कैद र जरिवाना भएको तीन वर्षयताको यो पहिलो घटना हो । श्रीमतीलाई बोक्सी लगाई मारेको आरोप लगाएर रामकुमार र उनका परिवारका सदस्यले ०७६ साल कात्तिक १३ गते कबिता र परिवारका अन्य सदस्यमाथि कुटपिट गरेको भन्दै आफ्न्तजन प्रहरी हुँदै अदालतसम्म पुगेका थिए । बचाउन जाँदा कविताका आफ् न्तमाथिसमेत कुटपिट भएको प्रहरी र अदालतमा प्रस्तुत गरिएको जोहरी निवेदनमा उल्लेख गरिएको थियो । टाउँको, डाढ, हात र पेटमा गहिरो चोट लागेको कबिता स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा सात दिनको उपचारपछि घर फर्केकी थिइन् । कविताकातर्फबाट सरकारी वकिल जिल्ला न्यायाधिवक्ता अरविन्द मेहता, वरिष्ठ अधिवक्ता महेन्द्र कुमार चौधरी, नवराजकुमार क्षेत्री, अधिवक्ता देवबहादुर कटुवाल र शंकर कुमार मिश्रले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ता बालकिशोर यादव र कृष्णकुमार केसीले बहस गरेका थिए ।
अदालतको फैसलाबाट कविता र उनका परिवारजन भने पूर्ण सन्तुष्ट छैनन् । बोक्सीको आरोपमा आफ्नो हत्या प्रयास भएको र सख्त घाइते बनाएकाले अदालतले पीडकलाई कसुर अनुसारको सजायमा केही कमी गरेको कविताको गुनासो छ । पीडकको कुटपिटबाट सासु महामेघा, जेठानी लक्ष्मीदेवी मिश्र, भतिजा पारस मिश्र घाइते भएको र उपचारमै ३५ हजार खर्च भएको सुनाउँदै उनले भनिन्, “सोही अनुसारको सजाय र जरिवाना तोक्न नसकेको देखियो ।” छिमेकी रामकुमारको घरमा कुनै समस्या पर्दा मलाई नै आरोप लगाउथे, उनले भनिन् “सहन नसक्ने र कुटपिटमै उत्रिएपछि अदालतमा पुगेको हुँ ।” अदालतको फैसलाबाट राहत त मिल्यो, तर, पूरा न्याय नपाएको उनको गुनासो छ । बोक्सीको आरोप र कसुर सजाय ऐन २०७२ को दफा ३ (१ को क) मा अभियोगमा सो कसुरमा ६ महिनादेखि २ वर्षसम्म कैद र ५ हजार देखि २० हजारसम्म जरिवाना तथा सोही दफाको (ख) मा बोक्सीको आरोप लगाइ कसुर गर्ने व्यक्तिलाई १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।