अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार ०६:१९

नेपालमा भारतीय रुपैया(भारु)को लेनदेन ठप्प हुन थालेको छ । केही महिना पूर्व महँगो रहेको भारुको मूल्य क्रमिक रुपमा घटेको छ । अवैध बजारमा भारु निकै कमजोर भएको व्यवसायीहरु बताउँछन् । बजारमा २ हजार र ५ सय दरको नोट लेनदेन प्रायः बन्द नै भइसकेको छ । अन्य दरका भारु लिन पनि व्यवसायीहरुले अस्वीकार गर्न थालेका छन् । नेपाली पेट्रोलपम्पलगायतका कतिपय व्यवसायिक प्रतिष्ठानहरुमा भारु नलिने सूचना नै टाँस गरिएको छ ।

नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघ जनकपुरधामका अध्यक्ष किसुनदेव साहले बजारमा भारुको अवमूल्यन हुन थालेकाले लेनदेन बन्द गरिएको बताए । ‘मूल्यमा स्थिरता नरहेकाले भारुको कारोबारमा कमी आएको छ ’उनले भने, पेट्रोलपम्पहरुमा भारुको कारोबार पूर्ण रुपमा नै बन्द भएको छ । नेपालमा अहिले भारु फालाफाल रहेको उल्लेख गर्दै एकजना व्यवसायीले भने, साना दरको नोट लिए पनि ठूला दरको नोट ठप्प नै भएको छ । भारतीय रिजर्व बैंकले गत महिना सार्वजनिक सूचना जारी गर्दै अक्टोबर मसान्तसम्म दुई हजार दरको भारु बैंकमा साट्न भनेको छ । एक जनाले दैनिक अधिकतम् १० वटा दुई हजार दरको नोट मात्र बैंकमा सटही गर्ने व्यवस्था गरिएको छ । नेपालमा राष्ट्र बैंकले भारु १ सय दरको नोटलाई मात्र मान्यता दिएको छ । १ सय भन्दा बढी दरको भारु नोटलाई नेपालमा अवैध मानिएको छ । नेपालीहरुले संञ्चित गरेको २ हजार र ५ सय भारु नोट धमाधम साट्न थालेका छन् ।

भारतीय सीमावर्ती बजारमा १ सय ५० देखि १ सय ५५ रुपैयाँमा १ सय भारु पाइन्छ । सीमा क्षेत्रमा रहेका व्यवसायीहरुले नेपाली रुपैयाँमा कारोबार गर्न बढी उत्सुक देखिएका छन् । नेपाली रुपैयाँमा सामान खरिद गर्दा भारु १ सय मूल्यको सामान नेपाली १ सय ५० देखि १ सय ५५ रुपैयाँमा दिने गरेका छन् । नेपालमा १ सय भारुको कारोबार नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरमै भइरहेको छ । तर अन्य नोटको अवस्था दयनीय रहेको छ । २ हजार र ५ सयको भारु नोट चलाउन नेपालीहरु सीमाक्षेत्रका आफ्न्त अथवा तस्करहरुसित सम्पर्क बढाउन थालेका छन् । भारु कमजोर हुनुको यथार्थ कारण भने कुनै व्यवसायीले बताउन चाहँदैनन् । सुन तस्कर र हुण्डी कारोबारीहरुले धन्धाबाट हात झिकिसकेको बताउँछन् । उनीहरुले पनि भारतीय मुद्रा नेपाली मुद्रासित कमजोर हुनुको कारण यकिन गर्न सकेका छैनन् । सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ बलियो रहे पनि त्यो भने फेरि नेपालमै फर्किने गरेको छ । नेपालमा १ सय भारु मात्र वैध रहेको छ ।

भारतमा नेपाली मुद्रालाई वैधता छैन् । सीमावर्ती भारतीय बजारमा कारोबार हुने नेपाली रुपैयाँ पुनःअवैध मार्गबाट नेपाल भित्रिने गरेको छ । तस्करी मार्गबाट नेपाल आउने नेपाली रुपैयाँ कहिले काहीँ प्रहरीले बरामद समेत गर्छन् । त्यस्ता रुपैयाँको प्रहरीले स्रोत खोज्ने गरेकोछ । भारु कमजोर भए पनि आम नेपालीलाई त्यसबाट खासै लाभ भने भइरहेको छैन् । खुद्रा भारु लिनेहरुलाई बैंकको विनिमय दर अनुसार नै नेपाली दिनु परिरहेको छ । भारु कमजोर हुनुको कारणबारे व्यवसायीहरुले अनभिज्ञता प्रकट गर्छन् । कतिपयले नेपाली बजारबाट भारततर्फ तस्करी हुने क्रम बढेको हुनसक्ने बताए । उनीहरुले नेपाली बजारमा भारतीय मुद्रा आवश्यकता भन्दा धेरै बढी रहेको दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा सीमावर्ती क्षेत्रमा अनुसन्धान गरिरहेको छ । अधिकारीहरुले अनुसन्धान भइरहेको बताए पनि त्यसको प्रतिवेदन सार्वजनिक भइ नसकेको बताए ।

Comment


Related News

Latest News

Trending News