अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार ०६:३१

नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले नागरिकता विधेयक प्रमाणीकरण भए पनि नागरिकता नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी उनले नेपाली भएर पनि अनागरिक बनेका हजारौं युवाहरुको जीवन ध्वस्त पार्ने अधिकार कसैको नरहेको जिकिर गरे । प्रमाणीकरण भइसकेको विधेयक कानुन सरह लागु हुनुपर्ने र सर्वोच्च अदालतले हजारौं पीडित अनागरिकलाई न्याय दिनुपर्ने माग उनले गरे । एक साताभन्दा बढी समयदेखि काठमाण्डुको माइतीघर मण्डलामा नागरिकता पाउनुपर्ने माग गर्दै आन्दोलनरत अनागरिकहरुको आन्दोलनमा एक्बद्धता रहेको जानकारी दिँदै नेता शर्माले दुई दिन भित्र सुनुवाइ नभए आफू सत्याग्रहमा बस्ने चेतावनी दिए । लोकतन्त्रमा अन्तिम अस्त्रको रुपमा मानिएको सत्याग्रह मात्रै एक बाटो रहेको भन्दै उनले माइतीघर मण्डलामा असार १ गतेदेखि अनशन शुरु गर्ने बताए । नागरिकताविहीनहरुको पीडामा सहयोग गर्नुपर्छ सोंचेर सत्याग्रहमा बस्ने निर्णय लिएको उनले बताए । दुईटै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्दा राजपत्रमासमेत प्रकाशित भइसकेको अवस्थामा षड्यन्त्र गरी अदालतमा रिट हालेर नागरिकता वितरण रोकिएको प्रति उनले चिन्ता व्यक्त गरे । ‘नागरिकता नपाएकै कारण लाखौं युवा बेरोजगार बनेका छन् न त उनीहरु देशमै रोजगारी पाएका छन्,नत्र विदेश नै जान पाएका छैनन् । उनीहरु ठूलो समस्या झेलिरहेका छन् । त्यसैले अविलम्ब नागरिकता समस्या समाधान हुनुपर्छ । सर्वोच्च अदालतले पनि न्याय दिनुपर्छ।’

नेता शर्माले तत्काल नागरिकता समस्या समाधान नभए राष्ट्रिय एकतामाथि नै खतरामा पर्ने र देशमा द्वन्द्व सृजना हुने सम्भावना रहेको प्रति सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक सम्बन्धी अल्पकालीन अन्तरिम आदेश जारी भए देखि नै पीडितहरु आन्दोलित रहेकोले सो आन्दोलन कुनै पनि बेला ठूलो आन्दोलनको आँधीबहेरीको रुपमा अगाडि बढ्न सक्ने संकेत गर्दै लाखौं अनागरिकको पीडा सरकारले बुझिदिनुपर्ने धारणा राखे ।

Comment


Related News

Latest News

Trending News