अपडेट 
२०८० असार १, शुक्रबार १६:०२

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभई लुटिएको टिप्पणी गर्नुभएकाे छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताउनुभएको हो । उहाँले बैंक लुटे जसरी ‘चार यार’ हरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको आराेप लगाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसदमाथि नै प्रहार भएको हो कि भन्ने कुराले बढी चिन्ता मलाई लागेको छ । यसो हेर्दा बजेट लुटिएको होजस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । जसरी बैंक लुट्दाखेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएकाजस्ताे देखिन्छ । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर, अँध्यारोमा गएर बाँडफाँट गरेकोजस्तो स्पष्टरूपमा देखिन्छ । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ ।’

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताउनुभयो । उहाँले एक महिना बहस हुँदा पनि बजेटमा ‘कमा’ र ‘फुलस्टप’ समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताउनुभयो । उहाँले बजेट योजना र दृष्टिविहीन भएको जिकिर गर्नुभयाे ।

Comment


Related News

Latest News

Trending News