अपडेट 
२०८० असार २, शनिबार ०७:१३

महोत्तरीका पाँच स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।

गत आर्थिक वर्ष ०७८/७९ मा जिल्लाका बर्दिवास नगरपालिकाले ४० जना रामगोपालपुर नगरपालिकाले ७ जना सम्सी गाउँपालिकाले २१ जना बलवा नगरपालिकाले १२ जना र औरही नगरपालिकाले १७ जना गरी कुल ९७ जना मृत्यु भएका व्यक्तिको खातामा रकम पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

बर्दिवास नगरपालिकाले पाँच लाख अठाईस हजार सात सय आठ, सम्सी गाउपालिकाले पाँच लाख साठी हजार बलवा नगरपालिकाले दुई लाख सन्तावन हजार ४ सय ६४ औरही नगरपालिकाले २ लाख ३६ हजार ६ सय ८८ र रामगोपालपुर नगरपालिकाले एक लाख २० हजार रुपैयाँ गरी कुल १७ लाख २हजार ८ सय ६० रुपैयाँ मृत्यु पश्चात् भुक्तानी गरेको देखिएको छ ।

सामाजिक सुरक्षा नियमावली ०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाइ मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाव दिइएको देखिन्छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि ०७७ को दफा ११ ९२० मा कुनै लाभग्राहीको मृत्यु भएमा, एकल महिला लाभग्राहीले विवाद गरेमा वा ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानुन बमोजिम सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ ।

यसरी घटना दर्ता गर्दा लाभग्राही विवरणसमेत अद्यावधिक गरी लगत कट्टा गर्नुपर्ने प्रावधान छ ।

Comment


Related News

Latest News

Trending News