अपडेट 
२०८० असार २, शनिबार १५:४५

गएको बुधवार नेपाल भित्रिएको मनसुन देशभर फैलन ढिलाइ भएको छ । मनसुन देशभर फैलन ढिलाइ भएसँगै मध्य र पश्चिम तराईमा बढेको गर्मी अझै केही दिन कायमै रहने भएको छ।

तराई मधेस क्षेत्रमा अझै दुई/तीन दिन वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना कम भएकाले गर्मी कायमै रहने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् बिनाेद पोखरेलले जानकारी दिनुभयो । मध्य र पश्चिम तराईका नागरिक चर्को घाम र तातो हावाका कारण हैरान भएका छन् ।

आउँदो मङ्गलवारदेखि पूर्वी र मध्य क्षेत्रमा मनसुन सक्रिय हुने र आउँदो हप्तादेखि भने नेपालभर नै मनसुन सक्रिय भएर पानी पर्ने पोखरेलले बताउनुभयो । यस्तै, भारतका विभिन्न क्षेत्रमा प्रभाव पारिरहेको बिपरजोय आँधीका कारण आउँदो सोमवार पश्चिम नेपालमा वर्षाको सम्भावना रहने भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।

बिपरजोयको प्रभावले हुने वर्षाका कारण तराई मधेसको तापक्रम केही घट्ने तर शीतल दिनको लागि केही दिन पर्खनै पर्ने उहाँले बताउनुभयो । अहिले ताप्लेजुङ, कास्की, म्याग्दी, जाजरकोट, डोटी लगायतका जिल्लामा सामान्य पानी परिरहेको भए पनि धेरैजसो ठाउँमा घाम लागेको छ ।

अहिले मधेस प्रदेशका सबैजसो जिल्लाको तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि छ भने चितवनभन्दा पश्चिमतर्फ रहेका तराई मधेस जिल्लाहरुको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

Comment


Related News

Latest News

Trending News