अपडेट 
२०८० असार ३, आईतवार ०७:३२

राजविराज नगरपालिका वडा २ मा निर्माणाधीन अवस्थामा रहेको महिला सेफ हाउस भवनको निर्माण सामग्री चोरीको प्रयास भएको छ ।

शुक्रबार मध्यराति १२–१३ जनाको अज्ञात समूहद्वारा चोरीको प्रयास भएको थियो । निर्माण सामग्री सुरक्षाका लागि निर्माण स्थलमै टहरा बनाइ बस्ने गरेका सत्यनारायण साहका अनुसार राति २ः३० बजेतिर अनुहार छोपेर आएका १२–१३ जनाको समूहले निर्माण स्थलमा राखिएका फलामे डन्डी, पानी तान्ने मोटर, ढलानमा प्रयोग गरिने काठका तख्ता लगायतका सामग्री चोरेर लइजाने प्रयास गरेका छन् । ‘राति अचानक फलामे डन्डीको घर्षणको आवाज सुनेपछि निन्द्रा भंग भो, सत्यनारायण भने– उठेर देख्दा कोही गम्छाले त कोही मास्क लगाएका व्यक्तिहरु डन्डी, पानी तान्ने मोटर र काठहरु बोकेर जाँदै गरेको देखे ।’ उक्त सामग्रीहरु निर्माण स्थलबाट केही टाढा लगिसके पनि आफूले चिच्याए पछि छाडेर भागेको उनले सुनाए ।

अलपत्र तथा हिंसामा परेकी महिलाहरुलाई सुरक्षित व्यवस्थापन गर्न अहिले उक्त स्थानमा प्रदेश सांसद किरण कुमारी साहको संसदीय विकास कोषबाट महिलासेफ हाउस निर्माण कार्य चलिहरको छ । सुरक्षाका लागि खटिएका सत्यनारायणले चोरी गर्न आएकाहरुबारे तत्कालै प्रहरी, उपभोक्ता समितिका अध्यक्ष मन्जरी कुमारी झा र प्रदेश सांसद साहलाई मोबाइल मार्फत जानकरी गराएका थिए । प्रहरी भने एक घन्टा ढिलो आउँदा चोर समूह फरार भइसकेको सत्यनारायणले बताए ।

घटना स्थलबाट २ सय मिटर मात्रको दूरीमा राजदेवी अस्थायी प्रहरी पोष्ट रहेको छ । यस्तो अवस्थामा पनि चोरीको प्रयास हुनु र प्रहरी ढिलो आउनु अनौठो र आश्चर्यको विषय रहेको प्रदेश सांसद साहले बताइन् । राजदेवी प्रहरी विटका असइ दिनेश ठाकुरले आफूहरु पुग्दा चोर समूह फरार भइसकेको र खोजी कार्य भइरहेको जनाए ।

Comment


Related News

Latest News

Trending News