अपडेट 
२०८० असार ४, सोमबार ०६:२१

भारतीय रुपैया (भारु)को अवमूल्यन जारी रहेकाले भारतीय पर्यटकहरु मारमा पर्न थालेका छन् । ठूला दरका भारु नोट लिएर नेपाल घुम्न आउने भारतीय पर्यटकहरुको बजेट नै विग्रन थालेको छ । भारतीय पर्यटकहरुले भारु रुपैयाँ साट्नु परे स्थानीय व्यवसायीहरुले पाँच सय भारुको नोटलाई नेपाली साढे सात सयसम्म साटिन्छ । दुई हजार दरको नोट साटनु परे ३ सय नेपाली घटाएर पनि स्थानीय व्यवसायीहरुले लिन मान्दैनन् । अधिकांश भारतीय एटीएम नेपालमा काम गर्दैन् । अहिले हरेक दिन हजाराँैको संख्यामा भारतीय पर्यटक नेपाल आउने गरेका छन् । तर उनीहरुले बोकेर ल्याउने भारुको अवमूल्यन भएको कारण अनावश्यक समस्या पर्ने गरेका छन् ।

भारत राजस्थानका मनोहर साहुका अनुसार उनीसित भएको २ हजार र ५ सयको नोट लिन व्यवसायीहरुले मानेका छैनन् । ‘सात दिन नेपाल घुम्ने मेरो कार्यक्रम रहे पनि भारु नचल्ने भएपछि ४ दिनमै फर्किन लागेका छौ’ उनले भने, जनकपुरधाम दर्शन गरेपछि पोखरा घुमेर भैरहवाबाट फर्किने निर्णय गरेका छौँ । भारु रुपैया आफूसित पर्याप्त रहे पनि नेपालमा लिनै नमान्ने, लिन तयार भए पनि सयकडा १५ रुपैयाँसम्म घटाउने गरेको उनले दुखेसो पोखे ।

नेपाल राष्ट्र बैंकको विनिमय दरमा १ सय भारुको मूल्य नेपाली १ सय ६० रुपैयाँ नै रहेको छ । तर अवैध बजारमा १ सय भारुको मूल्य १ सय ५० भन्दा पनि कम नेपाली रहेको छ । होटेल व्यवसायीहरुका अनुसार भारतीय पर्यटकको संख्या खासै घटेको छैन् । तर भारतीय रुपैयाँले उनीहरु समस्यामा पर्न थालेका छन् । होटेल रामाका मैनेजर दीपक गिरीका अनुसार स्थानीय ग्राहकहरुले समेत भारुमा भुक्तान गर्न थालेपछि समस्या आइपरेको छ । निर्धारित रेटमा लिएको भारु बजारमा पठाउँदा पाँच सय दरको भारु साढे सात सय नेपालीमा तरकारी, मासु पसलेहरुले लिने गरेको उनले बताए । तर भारतीय पर्यटकसित भारु तोकिएकै दरमा लिने गरेको गिरीले जनाए ।

कानुनी रुपमा विनिमय दरमा कुनै परिवर्तन नभए पनि अवैध बजारमा भारतीय मुद्रा खस्कदो अवस्थामा छ । गत वर्षको चैत महिनासम्म महँगो रहेको भारु अहिले निकै कमजोर भएको छ । हुण्डी र तस्करीको धन्धामा संलग्न रहेकाहरुका अनुसार असार अन्तिमसम्म नेपाली र भारु नोटबीच सन्तुलन हुन नसके देशकै आर्थिक अवस्था अत्यन्त कमजोर हुन सक्छ । नेपालमा भारु कमजोर भएको मात्र नभै सीमावर्ती भारतीय बजारमा पनि नेपाली रुपैयाँ नै बलियो छ ।भारतीय सीमावर्ती बजारमा भारुको भन्दा नेपाली रुपैयाँको माग बढदो छ ।भारतीय व्यवसायीहरुलेपनि नेपाली रुपैयाँमा कारोबार गर्न चाहन्छन् ।

मारवाडी सेवा समिति जनकपुरधामका पूर्व अध्यक्ष ललित बजाजले भारु रुपैयाँ निर्धारित मूल्यमा लिए पनि पाँच सय दुई हजारको नोट लिन समस्या रहेको बताए । नेपालमा भारु १ सय दरको नोट मात्र मान्य छ ।तर व्यवहारमा २ सय, ५ सय र २ हजार दरको भारु पनि चलनचल्तीमा रहेको छ ।तर अब २ सय र ५ दरको भारु सयकडा १० कममा खरिद गरिए पनि २ हजार दरको भारु नेपालमा चलाउन निकै कठिन भएको बताइन्छ ।

सीमा क्षेत्रमा बासिन्दाहरुले घरमा सञ्चित गरेका भारु पनि स्थानीय बजारमा चलाउन थालेपछि सर्वसाधारण झन सशंकित बनेका छन् । भारु रुपैयाँ अझै अवमूल्यन हुने हुण्डी गर्नेहरुको अनुमान छ । तर भित्री भारतमा रुपैयाँको कारोबारमा कुनै समस्या देखिएको छैन् । २ हजारको नोट पनि व्यवसायीहरुले लिने गरेका छन् । तर नेपाली सीमावर्ती भारतीय बजार र नेपाली बजारमा भारुको निकै अवमूल्यन भएको छ । भिठ्ठामोडको नेपालतर्फ सडकमा ५ रुपैयाँ सयकडा महँगोमा नेपाली नोट साट्ने धन्धामा लागेकाहरु अहिले १० रुपैयाँ सयकडा कममा नै भारु बेच्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News