अपडेट 
२०८० असार ४, सोमबार ०६:३६

धनुषाको आधा दर्जन पालिकाहरूमा पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगको संक्रमण देखिएको छ ।

खास गरेर गाई, भैँसीमा लाग्ने लम्पी स्कीन रोगका कारणले यहाँ आधा दर्जन चौपायाहरू मरेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, धनुषाधाम, बटेश्वर, सबैलामा यो रोगको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सञ्जीव ठाकुरले जानकारी दिए । लम्पी स्कीन रोग लागेको पशु चौपायामा फोका आउने, फुट्ने र घाउ आउने, ज्वरो आउने, गर्भ तुहिने र दूध दिनेको दूध आउन कम हुने जस्ता लक्षणहरू देखिन्छ ।

लम्पी स्कीन सरुवा रोग भएकाले यसले एक पशुबाट अर्को पशुमा सार्ने भएकाले किसानहरू सजग हुन आवश्यक छ । यो रोग लागेका पशुबाट स्वस्थ्य पशुलाई अलग राख्नका लागि चिकित्सकहरूले सुझाव दिएका छन् । लम्पी स्कीन रोगबाट जोगाउनका लागि नियमित रुपमा खोप लगाउनुको विकल्प नभएको उल्लेख गर्दै डा.ठाकुरले धनुषामा खोप कार्यक्रम यस पटक नचलेको बताए । आकस्मिक रुपमा खर्च गर्न मिल्ने शीर्षकको बजेट नै रोक्का गर्ने काम भएकाले खोप कार्यक्रम हुन नसकेको उनले बताए । धनुषामा पशु लागिरहेको प्राणघातक रोग लम्पी स्कीन रोग रोक्नका लागि समयमा नै ध्यान नदिएको खण्डमा थप क्षति गर्ने खतरा रहेकाले प्रदेश सरकारले नियमित खोप कार्यक्रम तत्काल सुरु गर्न आवश्यक देखिएको छ ।

Comment


Related News

Latest News

Trending News