अपडेट 
२०८० असार ४, सोमबार ०६:३८

बारामा ९ वर्षीय बालिकालाई करणी गरेर हत्या गरेको अभियोगमा आदर्शकोतवाल गाउँपालिका–७ का सन्तोष साह कानुलाई बारा जिल्ला अदालतले आजीवन कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले जेठ ३० गते साहलाई आजीवन कैद हुने फैसला सुनाएका छन् । आदर्शकोतवाल गाउँपालिका–७ स्थित कुखुरा फर्म छेउको खाली चौरमा बाख्रा चराइरहेकी सोही गाउँकी ९ वर्षीया बालिकालाई ललाइफकाइ कुखुरा फर्ममा बोलाएर सन्तोष साह कानुले ०७८ पुस २५ गते करणी गरेर हत्या गरेका थिए । हत्यालगत्तै साहले बालिकाको शव गाउँ नजिकैको जमुनी खोलामा फालेका थिए । साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को (१) अनुसार ज्यान सम्बन्धी कसुर र दफा २१९ को करणी सम्बन्धी व्यवस्थाको (३) अनुसार आजीवन जन्मकैद सजाय भएको छ । बारा जिल्ला अदालतले यी दुबै कानुलाई टेकेर साहलाई आजीवन जन्मकैदको फैसला भएको श्रेस्तेदार (उपसचिव) नवराज जोशीले जनाए । करणीमा पीडित जीवित रहेको अवस्थामा जन्मकैदको व्यवस्था छ तर करणी पश्चात हत्या हुँदा दोहोरो सजाय हुने व्यवस्था अनुसार पीडकलाई आजीवन जन्मकैदको फैसला भएको बारा जिल्ला अदालतले जनाएको छ । मुलुकी अपराध संहिता अनुसार जन्मकैद भन्नाले २५ वर्ष र आजीवन जन्मकैद भन्नाले जीवनभर कैद सजायलाई मानिन्छ । ‘दुबै कसुर कायम हुने ठहर भएकाले प्रतिवादी सन्तोष साह कानुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ अनुसार जीवित रहेसम्म कैद हुने ठहर्छ,’ बारा जिल्ला अदालतका श्रेस्तेदार जोशीले भने ।

यस्तो थियो घटना

०७८ पुस २५ गते दिउँसोका समयमा घरबाट बाख्रा चराउन गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन् । त्यसको २ दिनपछि ०७८ पुस २७ गते दिउँसो अन्दाजी १२ः३० बजे जमुनी खोलाको पानीमा ती बालिका मृत अवस्थामा फेला परेकी थिइन् । कुखुरा फर्मको नजिकै बाख्रा चराइरहेकी बालिकालाई साहले आफ्नै पिताले सञ्चालन गरेको कुखुरा फर्म नजिकै बोलाएर करणी गरेको र बालिका चिच्याएपछि घाँटी थिचेर, बालिकाको टाउकोमा कोदालो हानेर हत्या गरेका थिए । हत्या लगत्तै साहले बालिकाको शव बोराले छोपी राखेको र सोही दिन राति १२ बजेपछि कोही नभएको मौका छोपेर जमुनी खोलामा फालेका थिए । साहले बालिकाको करणी र हत्या लगत्तै घटनामा प्रयोग भएका केही सामान आगो लगाएर जलाएका थिए । भोलिपल्ट बिहान कुखुरा फर्मबाट आमा घरतर्फ जान लाग्दा साहले प्लाष्टिकको झोलामा बालिकाको जुत्ता, रुमाल प्याक गरी आफ्नी आमा शान्तिदेवीलाई नहरमा लगेर फाल्न लगाएका थिए । यद्यपि, सो घटनामा बारा जिल्ला अदालतले शान्तिदेवीलाई भने सफाइ दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिदेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै छोराले आफूलाई नहरमा फाल्न पठाएको झोला लगायतका विषयमा जानकारी दिएपछि प्रहरीले बालिकाको हत्यामा साह नै संलग्न रहेको पत्ता लगाएको थियो ।

Comment


Related News

Latest News

Trending News