अपडेट 
२०८० असार ५, मंगलवार ०६:२०

सबै थोक अपेक्षा अुनकूल नै भयो भने यो लेख प्रकाशित हुन्जेलसम्म केही वर्षदेखि पटक पटक चर्चा हुनेगरेको समाजवादी मोर्चाको घोषणा भई सकेको हुनेछ । तर, यो लेख लेखी रहँदा आएको समाचारको आधारमा भन्नु पर्दा समाजवादी मोर्चाको आवश्यकता बारे कुरा उठाउने नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबूराम भट्टराई यस मोर्चामा हुनेछैनन् । मोर्चा प्रवेशमा उनको निम्ति तगारो बनेका छन् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । मोर्चामा हाल सहमत देखिएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

समाजवादी मोर्चामा डा. भट्टराईलाई अन्य तीन दलले स्वीकार्न तयार रहेपनि जसपा अध्यक्ष तयार नरहेको खबरहरु बाहिरिएका छन् । जनता समाजवादी पार्टीमा दुबै नेता संगै रहेको बेला दुबै नेता बीच जन्मेको मतभेद र तिक्तता सम्भवतः अहिलेसम्मपनि बाँकी नै रहेको देखिएको छ । यो सत्ताको राजनीतिपनि गज्जबको हुँदो रहेछ । जतिबेला जसपा अध्यक्ष यादव र प्रचण्डबीचको तिक्तता थियो, डा. भटटराई र यादव साथसाथ थिए, र जतिबेला यादव र डा. भट्टराईबीच तिक्तता छ, यादव र प्रचण्ड साथसाथ छन् । तर रोचक के छ भने अहिले यादव र डा. भट्टराई दुई विपरीत कित्तामा देखिएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग दुबैको सम्बन्ध भने सौहाद्र्रपूर्ण नै छ । दुबै पार्टी प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा छन् । संसदमा १२ सीट रहेको जसपा अध्यक्ष उपेन्द्र यादवलाई महत्व दिएर प्रचण्डले आफूलाई बाईपास गर्नुलाई डा. भट्टराईले कुन अर्थमा लिन्छन् र यस्को पश्चगामी प्रभाव कस्तो हुन्छ भन्ने रोचक विषय हुनेछ । तर यस्को निम्ती प्रतीक्षा गर्नु पर्ने हुन्छ । संघीय संसदमा डा. भट्टराईको पार्टीको १वटा सीट छ । सम्भावित समाजवादी मोर्चामा अर्को रोचक पक्ष हालसम्म संसदिय राजनीतिभन्दा बाहिर रहेको विप्लव नेतृत्वको नेकपाको हुनेछ । हुन त यस पार्टीका एक शिर्षस्थ नेता खडकबहादुर विश्वकर्माको भनाईलाई मान्ने हो भने विप्लवको पार्टी गैरसंसदिय पार्टी रहेको तथा अन्य संसदिय पार्टीहरु छन् । तर सबै थोक अपेक्षा गरे अनुसार नै भयो भने र समाजवादी मोर्चाको घोषणा भयो भने, त्यसपछि विप्लवको पार्टीपनि संसदिय पार्टीमा गनिने छन् ।

त्यतिमात्रै होइन, उनिहरु सत्ताधारी पार्टीपनि हुनेछन् । यस्तो किन भनियो भने, पहिलो कुरा त यस मोर्चामा विप्लव बाहेका पार्टीहरु सत्ताधारी संसदिय पार्टीहरु हुन् ; र दोस्रो, मिडियामा खबर आए अनुसार यस मोर्चामा सहभागी सबै दलले पालै पालो नेतृत्व गर्ने व्यवस्था गरिएको छ । यसरी विप्लवको पार्टीले मोर्चाको नेतृत्व गर्ने बेला आखिर बाँकी संसदिय दलहरुपनि उनकै मातहतमा हुनेछन् । अर्को कुरा, एउटै मोर्चामा रहने भएकोले सत्तामा उनिहरुको वर्चस्व कायम हुन्छ, भन्ने कुरा मोर्चामा सहभागी घटकहरुको चासोको विषय बन्दैन भन्ने कुरा हुनै सक्दैन । यसरी के देखिन्छ भने विप्लव र उनको पार्टी यस मोर्चामा सहभागी हुनु उनिहरुको निम्ती राजनीतिक प्रवृत्तिको दृष्टिले सिफ्ट जस्तै हुनेछ । यसले उनिहरुको निम्ती न्यूनतम् एउटै राजनीतिक विगतका सहयात्री प्रचण्डसंग वैचारिक र सांगठनिक विलयनको अवसर र बाटो प्रशस्त गर्नसक्छ । (सम्भवतः प्रचण्डले चाहेकोपनि यस्तै हुनुपर्छ । ) कम्युनिस्ट पार्टी नै भएपनि भिन्न वैचारिक स्कूलबाट आएका माधवकुमार नेपाल र प्रचण्ड दुई भिन्न राजनीतिक पृष्ठभूमिका नेताहरु हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा वरिष्ठ माधवकुमार नेपाल भएपनि प्रभाव र गतिशीलताको दृष्टिले प्रचण्ड प्रभावशाली छन् । आफ्नो शिर्षस्थ र प्रभावशालिता आहत भएपछि एमालेबाट अलग्गिएका माधवकुमार नेपालले आफ्नो राजनीतिक दीर्घ जीवन र संसदिय वर्चस्वको निम्ती प्रचण्डको साथ आवश्यक छ ।

यस पटकको निर्वाचनमा उनको पार्टीले राष्ट्रिय पार्टीको हैसियत प्राप्त गर्न सकेन । यस्तोमा उनको राजनीतिक प्रभावमा उनको हालको पार्टी एकीकृत समाजवादीभित्र प्रश्न उठने सम्भावनालाई उपेक्षा गर्न सकिँदैन । यस्तोमा मोर्चाभित्रको सहभागिताले उनको प्रभाव बचाउन सक्ने देखिन्छ । फेरी मोर्चाभित्रको तीनवटा दलहरु कम्युनिस्ट ब्यानरका नै भएकोले सबै मिलेर नयाँ पार्टी निर्माणको सम्भावनाले उनलाई कमजोर ठानेर पलायन हुन खोज्नेलाई रोख्न सक्ने देखिन्छ । मोर्चाभित्र माधवकुमार नेपालको अपेक्षाहरुबारे यसरीपनि अनुमान गर्न सकिन्छ । मोर्चामा प्रभावशाली घटकको रुपमा देखिएको जसपा अध्यक्ष यादवका पनि मोर्चामा सामेल हुनुका आफ्ना अपेक्षाहरु हुन सक्छन् । मधेशी राजनीतिमा सबैभन्दा प्रभावशाली र मसीहाकै स्तरमा प्रचारित जसपा अध्यक्ष यादव तराई मधेश, विशेष गरि मधेश प्रदेशमा, विशेष गरी मधेश आन्दोलनको दृष्टिले, हुन त अहिलेपनि सबैभन्दा प्रभावशाली नै देखिन्छन् । तर जसो जसो मधेश आन्दोलन शिथिल हुँदैगएको छ, विगतको तुलनामा उनको प्रभाव घट्दै गै रहेको छ । कतिसम्म भने संसदिय निर्वाचनमा उनि पराजित भए, र अर्को उपनिर्वाचनमा उनकै पार्टीको सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा चयन भएपछि रिक्त भएको सीटमा जित्न उनलाई गाह्रो परेको थियो । यसरी नै एकातिर मधेश आन्दोलन विभाजित हुनु र मधेशमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी जसरी उनको प्रतिस्पर्धी पार्टीको रुपमा देखिनु उनको निम्ती चुनौतीको रुपमा देखिएको छ । यद्यपि उनको अर्को चुनौती भनेको मधेशमा विगतका निर्वाचनहरुमा धक्का खाएका नेपाली राजनीतिमा नेका र एमाले जस्ता पारम्परिक पार्टीहरुले फेरी आफ्नो प्रभाव बढाउँदै लग्नु हो ।

कतिसम्म भने संघीय संसदमा त नेका, माके र एमालेको पछि लाग्नु अन्य मधेशकेन्द्रित दलहरु जस्तै उनकोपनि बाध्यता त छँदैछ, मधेश प्रदेशमापनि उनको सरकार कहिले एमाले त कहिले नेका माकेको समर्थनमा चलि रहेको छ । वर्तमानमा मधेश प्रदेशमापनि सबैभन्दा ठूलो दल एमाले नै रहेको छ । तात्पर्य के हो भने संघीय संसद होस वा प्रदेश सभा, यादवको वर्चस्व कमजोर हुँदैछ । यस्तोमा उनले कुनै सम्बलको आवश्यकता छ । यस्तोमा समाजवादी मोर्चाको घटक पार्टी हुनुले उनको प्रभावशीलतालाई भरथेग गर्ने अपेक्षा उनले राख्नु अस्वाभाविक मानिदैन । एकातिर पार्टीको रुपमा स्वतन्त्र निर्णय लिनपनि स्वतन्त्र हुन पाउने तथा अर्कोतिर संसदमा प्रभावशाली मत भएको मोर्चाको सदस्यपनि हुनपाउनु । उनको अरुचिको कारण माके लगायतका अन्य घटक दलहरुले मोर्चाभित्र डा. भट्टराईलाई चाहेरपनि प्रवेश गराउन सकेनन्, त्यसले मोर्चाभित्र यादवको प्रभावशाली हैसियत दर्शाउँछ । यस्ले जसपाभित्र उनको हैसियत र वर्चस्वमा वृद्धि गराउने उनले गर्नुपनि अस्वाभाविक हुने छैन । माओवादी जनयुद्धको युगान्तकारी गौरवपूर्ण विरासतबाट नेपाली राजनीतिमा ऐतिहासिक रुपमा उदाएका माके अध्यक्ष प्रचण्ड संसदिय राजनीतिमा घरजम गरिसकेपछि उनि नियमित र सामान्य संसदिय नेता जस्ता भएका छन् । हुन त संघीय गणतन्त्रको स्थापनापछि उनि हमेशा सत्ताका केन्द्रमा नै छन् ।

कहिले एउटा पार्टीसंग त कहिले अर्को पार्टीसंग मिलेर उनि पटक पटक प्रधानमन्त्री हुन सफल भएकै छन् । यस्लाई उनको कूटनीतिक कुशलता भन्न सकिन्छ । तरमाओवादीका आधारभूत एजेन्डाबाट विचलित हुनुको कारण तथा नेपालमा माओवादी कम्युनिस्ट आन्दोलन विभाजित भैसकेपछि विचारधारात्मक तथा चुनावी लोकप्रियतामापनि उनको पार्टीको ग्राफ घट्दो क्रममा देखिन्छ । माओवादी जनयुद्धको विचार निर्माण गर्ने पार्टी नेकपा मशाल तथा दसवर्षे जनयुद्धको संचालन गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को गठन भएपछिको विगत साढे तीन दशकदेखि निरन्तर नेतृत्वमा रहेका प्रचण्डको निम्ती यो घट्दो लोकप्रियता उनलाई सत्तामा वर्चस्व कायम राख्न चुनौती थपिने कुरा उनले राम्ररी बुझेका छन् । यस्तोमा यो चारदलको मोर्चासंग उनलेपनि अपेक्षा गर्नु स्वाभाविक नै हुनेछ । यसरी के देखिन्छ भने प्रत्यक्षमा देशलाई समाजवादी दिशामा लैजानका निम्ती यस मोर्चाको निर्माण गरिएको भनिएपनि यो वर्तमान सत्ता राजनीतिमा आ–आफ्ना अपेक्षा सहित भएको हो । सैद्धान्तिक दावीहरु यस मोर्चाका बाहिरी आवरण मात्र हुन् । यस्तो किन भनियो भने, त्यस्तो भएको भए डा. भट्टराईलाई मोर्चाभित्र प्रवेशमा जसपा अध्यक्ष यादव तगारो बन्ने थिएनन् । आखिर डा. भट्टराईपनि यादव जस्तै गैर माक्र्सवादी समाजवादी नै हुन् । यस्तोमा मोर्चालाई बलियो बनाउने उद्देश्य भएको भए पुराना तीतोपना यादवले बिर्सनु पर्ने थियो । दोस्रो महत्वपूर्ण तथ्य समाजवादी मोर्चामा समाजवादबारे सर्वसम्मत विचारधारा र लक्ष्यको अभाव देखिनु हो ।

मिडियामा आए अनुसार चारवटा दलहरुले मोर्चाबारे सहमति जनाएका पन्द्रवटा बुँदाहरुमा समाजवादबारे अमूर्त भाषाको प्रयोग गरिएको छ । जहाँसम्म समाजवादी मोर्चाका घटक दलहरुको बुझाईको कुरा छ, समाजवाद बारे सबैका फरक फरक छ । विप्लव अहिलेपनि माओवादी विचारका निकट भएर समाजवादको व्याख्या गर्न रुचाउँछन् । प्रचण्डले आफूलाई माओवादबाट अलग्ग राख्ने खोजेपनि उनको समाजवादमा माक्र्सवाद र लेनिनवादी व्याख्या तथा जनयुद्धको गौरव मिसिएकै हुन्छ । त्यसरी नै माधवकुमार नेपालले आफूलाई मालेवादी भनेपनि उनको व्याख्या मदनभण्डारीको बहुदलिय जनवाद तथा संसदिय उदारतावादमा आधारित छ । त्यसै गरि अर्को जसपा अध्यक्ष यादवले आफूलाई गैर कम्युनिस्ट पटक पटक भनि रहनुले उनको समाजवाद गैर माक्र्सवादी वा अधिकतम् प्रजातान्त्रिक समाजवादीहरुले भने जस्तैसमृद्धिलाई समाजवादको रुपमा परिभाषित हुने देखिन्छ । यसरी समाजवाद बारे समान बुझाई विकसित न गरेसम्म यी फरक बुझाईहरु समाजवादी मोर्चाको निम्ती चुनौतीको रुपमा रहने छ । यो त फरक विषय भयो । हाल त के देखिन्छ भने यो मोर्चा सबैको निम्ती आ–आफ्नो समस्या समाधान गर्ने उपायको रुपमा देखिन्छ । यद्यपि प्रचण्ड लगायतको समाजवादी मोर्चा निर्माण, संसदिय राजनीतिमा एउटा तरंग तथा सत्ता समीकरणलाई नयाँ सिराबाट संयोजन गर्ने निहुँ बन्ने सम्भावनापनि उत्तिकै छ ।

यसले संसदिय राजनीतिमा समान हैसियतका र मन मिल्ने अन्य साना साना दलहरुलाई पनि एकजूट हुन प्रेरित गर्न सक्छ । जनताको हितभन्दापनि निजी स्वार्थमा लिप्त संसदिय राजनीतिक दलहरुको यस मोर्चाबन्दीबाट धेरै अपेक्षा त गर्न सकिँदैन् । यस्तो किन भनियो भने समाजवाद भनेको निजी सम्पत्तिको निषेधको बाटो अवलम्बन गर्नु, श्रमजीविवर्गीय विचार र सँस्कृतिको बाहुल्यता, उत्पादन र वितरणका साधनहरुमा समाजको अधिकार र वर्चस्व हुने गर्छ । समाजवादको उद्देश्य नाफा वा लाभ कमाउनु हुँदैन, बरु समाजको कल्याण हुने गर्छ । त्यसैले पूँजीवाद वा पूँजीपतिहरुले समाजवाद रुचाउँदैनन् । यस मोर्चाबाट यस्तो समाजवादको अपेक्षा गर्नु स्वाभाविक हँदैन । कदाचित भयो भने आश्चर्य मान्नु पर्छ । तरपनि यसले थोरैभएपनि समाजवादी सँस्कृति अँगाल्न सक्यो, समाजवादबारे समाजमा तलसम्म बहस जन्माउन सक्यो भने यस्को सार्थकता हुनेछ ।

Comment


Related News

Latest News

Trending News