अपडेट 
२०८० असार ५, मंगलवार १४:५०

सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको जनाएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा बसेको  बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले भारतको नयाँ संसद् भवनभित्र राखिएको  अखण्ड भारतको नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भू–भागहरू पनि समेटिएकोबारे दूतावाससँग बुझेर प्रतिवेदन बुझाउन नेपाली दूतावासलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न गर्नुभएको  भारत भ्रमणका क्रममा अखण्ड भारतको नक्साको विषयमा गम्भीरतापूर्वक कुरा नउठाएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि परराष्ट्रमन्त्री साउदले  संवेदनशील विषयमा अध्ययन गरेर मात्रै धारण राख्नुपर्ने भएर त्यस विषयमा तत्काल कुरा नउठेको स्पष्ट पार्नुभयो ।

बैठकमा संविधान संशोधन गरेर सर्वसम्मतिले नेपालको चुच्चे नक्सा जारी गरिसकेको स्मरण गराउनुहुँदै परराष्ट्रमन्त्री साउदले यस विषयमा पटक पटक स्पष्टीकरण दिइरहनु नपर्ने बताउनुभयो ।

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण पूर्ण रुपमा सफल भएको पनि बैठकलाई जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमण हतारमा भएको, महत्वपूर्ण उपलब्धि नभएको, भ्रमणका बेला प्रोटोकलमा ख्याल नराखेको  विषयमा धारण राख्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News