अपडेट 
२०८० असार ६, बुधबार ०६:३९

धनुषा जिल्ला अदालतले मृतक आरती साह प्रकरणमा अभियुक्त बनाइएका उनका पति र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरतीका पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको हत्या भएको दाबी गर्दै साहको माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला लगायत शरीरका अन्य भागमा पनि घाउचोट भेटिएपछि उनको हत्या भएको किटानी जाहेरी परेको थियो । प्रहरीले घटनाको अनुसन्धानको क्रममा आरतीका श्रीमान् र ससुराको संलग्नता रहेको ठहर गर्दै प्रतिवेदनसहित जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरिएको थियो ।

गत असार १ गते दर्ता भएको सो मुद्दामा तीन दिन थुनछेक बहस भएको थियो । शंकाष्पद मृत्यु भएकीसाहका परिवारजनले जिल्ला अदालत धनुषा अगाडि ढुंगामुढा गरेका छन् । महिलाको हत्या आरोपिहरुको मंगलबार थुनछेक बहसको फैसला सुनाउने तयारी भइरहेको बेला बाहिर सडकमा विरोध प्रदर्शन गर्नेहरुले अदालत परिसरमा ढुंगामुढा गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका – ९ थापा चोकमा बस्ने आरती साहको शंकास्पद मृत्यु भएको थियो । मृतक साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका आफन्तहरुले अदालतमा ढुंगामुढा गरे । प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए ।

अदालतको बाहिरी मूल ढोकासँगै सडकमा प्रदर्शन गरिरहेका आफन्तहरुले अचानक अदालत भित्र ढुंगामुढा गर्न थालेका थिए । त्यसक्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ढुंगामुढा गर्न थालेका प्रदर्शनकारीहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । भीडलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको थियो ।प्रहरीको लाठीचार्जमा चार जना घाइते भएको प्रदर्शनकारीहरुको दाबी छ ।

प्रहरीले प्रदर्शनमा सहभागी गोविन्द साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए । ‘प्रहरीले भीडलाई सडकबाट हटाउन खोज्दा प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरेका थिए’ उनले भने, भीड नियन्त्रण गर्न सामान्य बल प्रयोग भएको छ। जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोककी २२ वर्षीया आरती साहको जेठ ७ गते मृत्यु भएको थियो । माइती पक्षले आरतीको श्रीमान, ससुरालगायत मिलेर हत्या गरेको आरोप लगाएका छन् ।

माइती पक्षले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने,आरतीको मृत्युको घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गर्नुपर्नेसहितका ६ बुँदे माग राखेका छन् । आरतीको माइतीपक्षले जनधपुरधामममा जस्तै काठमाण्डुको माइती घरमा पनि प्रदर्शन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News