अपडेट 
२०८० असार ८, शुक्रबार १८:२९

जनकपुरधाम उपमहानगरले आव २०८०/०८१ का लागि कुल २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

उपमहानगरको सभाहलमा आयोजित दशौं नगरसभामा उपमेयर किशोरी साहले बजेट सभासमक्ष पेश गरेका हुन्। मेयर मनोजकुमार साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

‘सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने नारासहित उपमेयर साहले नगर सभालाई सम्बोधन गर्दै विनियोजित खर्चमध्ये चालू खर्च १ अर्ब १३ करोड ६२ लाख, पुँजीगत खर्च ५६ करोड ९५ लाख १८ हजार २९०, वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआईपी सञ्चालनतर्फ ५२ करोड ३३ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको बताए।

उक्त खर्च व्यहोर्न कुल राजस्वको अनुमान २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रुपैयाँ पेश गरिएको छ। त्यसमध्ये आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९०, बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार तथा युआरएलआईपी सञ्चालनका लागि नगर विकास कोषबाट प्राप्त हुने आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार राजस्व, ऋण तथा अनुदान प्राप्त हुने अनुमान छ।

बाह्य स्रोततर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार राजस्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ। नेपाल सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, नेपाल सरकार समपूरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम सञ्चालनका लागि ४० करोड १२ लाख २३ हजार गरी जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजस्व तथा अनुदान प्राप्त हुने अनुमान छ।

आन्तरिक स्रोततर्फ आन्तरिक राजस्व २१ करोड, नेपाल सरकार राजस्व बाँडफाँडबाट ३४ करोड ८४ लाख २६ हजार १ सय, प्रदेश सरकार राजस्व बाँडफाँडबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान छ। उपमहानगरको सञ्चित कोषमा बैंक मौज्दात २० करोड रहने अनुमान छ।

त्यसैगरी सार्वजनिक स्थानमा फोहरमैला संकलनको लागि डस्टबिन व्यवस्थापन गर्न ३० लाख, लामखुट्टे नियन्त्रणका लागि अध्ययन गर्न २० लाख तथा सोको प्रतिवेदन अनुरूप कार्य गर्न थप २ करोड ५० लाख, नगरपालिकाको आफ्नो सवारी साधन पार्किङस्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि २ करोड ५ लाख, रंगभूमि मैदान व्यवस्थापनका लागि सहलगानी अनुरूप २० लाख, रामजानकी अन्तरराष्ट्रिय रंगशालामा थप निर्माण गर्न २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सार्वजनिक निजी साझेदारीमा जनकपुरधाममा एउटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ। ‘एक टोल एक सामूहिक कृषि उत्पादन, उत्पादन क्षेत्र’ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ।

युवालक्षित सहकारी र सामुदायिक खेती प्रणालीमा प्रोत्साहित खेती गरिनेछ। मेयर साहले उपमहानगरको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै उपमहानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने जानकारी गराए।

Comment


Related News

Latest News

Trending News