अपडेट 
२०८० असार ९, शनिबार ०८:२१

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देश संकटको भूमरीमा फँसेको बताएका छन् ।

महोत्तरीको एकडारामा शुक्रबार आयोजित राप्रपाका नेता एवम् समाजसेवी स्व.रामविलाश यादवको शालीक अनावरण कार्यक्रममा उनले धर्म निरपेक्षताको नाउँमा सदियौंदेखि कायम रहेको हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पार्ने काम भएको बताउँदै देशभरिमै धर्मपरिवर्तन गराउने योजनावद्ध षड्यन्त्र नै भइरहेको जिकिर गरे । तराई होस कि पहाड गाउँ गाउँमा धर्मपरिवर्तन गराइ नेपालीहरुको संस्कृतिलाई नष्ट पार्दै विदेशी संस्कृति लाद्ने काम भएको उनले धारणा राखे । ‘अहिले लोकतन्त्रको नाउँमा ब्रह्मलुट छ,’उनले भने,‘ गाउँपालिकादेखि सिंहदरबारसम्म भ्रष्टाचारको जालो फैलिएको छ’ भुटानी शरणार्थीको नाउँमा अरबौ भ्रष्टाचार गरेको आरोपमा पूर्व गृहमन्त्री नै जेलमा परेको कुरा विदित रहेको बताउँदै उनले भने,‘ नेपाली नागरिकलाई अनागरिक बनाउने,भुटानी शरणार्थी बनाउने अनि विदेशमा निर्यात गर्ने,मानव तस्करी गर्ने यो काम कुनै साधारण व्यक्तिले गरेको होइन ,देशमा शान्ति सुरक्षाको जिम्मा लिएका गृहमन्त्रालयमा रहेका मन्त्री र सचिवहरुले गरेका छन् यो राष्ट्र विरुद्धकै अपराध हो ।’

स्व.नेता रामविलाश यादव महोत्तरी जिल्लाको मात्र नभइ देशकै कर्तव्यनिष्ठ,इमान्दार र नैतिकवान नेताको रुपमा रहेको बताउँदै अध्यक्ष थापाले उनले देखाएको मार्गमा अगाडि बढ् नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे । आफ्नो क्षेत्रका लागि मात्र नभइ महोत्तरी जिल्लाकै विकास निर्माणमा उनले गरेको योगदानको चर्चा गर्दै उनले स्व.यादवको शालीकको अनावरण गर्न पाउँदा आफूलाई भाग्यशाली ठानेको जिकिर गरे । रामविलाश यादव स्मृति प्रतिष्ठानकाको आयोजनामा भएको सो शालीक अनावरण समारोहमा एकडारा गाउँपालिकाका मेयर दीप नारायण मण्डलले स्व.नेता यादवको बारेमा शब्दमा चर्चा गर्न नसकिने बताए ।

राप्रपा नेपालका सहायक महामन्त्री शशिरंजन यादवको सभापतित्वमा भएको सो समारोहमा राप्रपाका महामन्त्री राजाराम गर्तौला,केन्द्रीय सदस्य ज्ञानेन्द्र साह,नेताहरु विनोद मिश्र,सखिचन यादवलगायतकाले आ–आफ्नो मनतव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News