अपडेट 
२०८० असार १०, आईतवार ०६:३२

आलु प्याज व्यवसायी संघ जनकपुरधामले भारतबाट आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ । सरकारले आलु प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएपछि व्यवसायीहरुले यस्तो चेतावनी दिएका छन् । उनीहरुले आइतबारदेखि अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ ।

संघ सरकारले प्रस्तुत गरेको आगामी बजेटमा आलु प्याजमा १३ प्रतिशत कर लगाउने घोषणा गरेपछि व्यवसायीहरुले आलु प्याज कृषिजन्य पदार्थ रहेको भन्दै भ्याटको विरोध गरेका छन् । यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा सो कर हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । संघ सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटमा आलु, प्याज, फलफूललगायत कृषिजन्य सामग्रीमा थप १३ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । आलु, प्याज तथा फलफूलमा प्रस्ताव गरिएको थप कर रकमको व्यवस्था हटाइ बजेट पारित नगरेसम्म भारतबाट आलु प्याज नल्याउने व्यवसायीहरुले जनाएका छन् ।

भारतबाट जनकपुरधामको पेठिया बजारमा दैनिक पाँच ट्रक आलु प्याज आउने गरेको थियो । तर सरकारले कर लगाउन प्रावधान ल्याएपछि एक ट्रक मात्रै आउने गरेको पाइएको छ । सरकारले कृषिजन्य सामग्रीमा थप कर लगाएपछि नेपाली बजार प्रभावित भएको छ । दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य सामग्रीमा कर लगाएपछि आलु प्याज भन्सार छली नेपाल भित्रिरहेको छ । सरकारले यस भन्दा पहिला कृषि जन्य सामग्रीमा कर छुट दिँदै आएको थियो ।

सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले लगाइएको करका कारण झन राजस्व न आउने गरेको व्यवसायीहरुको कथन छ । उनीहरुले आलु प्याजको आयातमा रोक लगाउने चेतावनी दिएसंगै जनकपुरधाम बजारमा आलु प्याजको मूल्य अकासिएको छ । व्यवसायीहरुको चेतावनीसंगै जनकपुरधाममा आलु प्रतिकिलो ५० भन्दा माथि र प्याज करिव ७० रुपैयाँ प्रतिकिलोको दरले शनिबार बिक्री गरिएको थियो । सरकारले आलु प्याजको मूल्यमा बढी दर लिने व्यवसायीहरुलाई कारवाही गर्ने चेतावनी दिए पनि जनकपुरधाममा आलु प्याजको मूल्य आकासिएको छ ।

व्यवसायीहरुले कृषिजन्य पदार्थमा बढी फाइदा नहुने गरेका कारण भ्याट लगाउनु नपर्ने गुनासोसमेत गरेका छन् । जनकपुरधामको बजार र भारतीय बजारमा आलु प्याजको मूल्यमा ढुवानी बाहेक केही प्रतिशतको मूल्य रहेका कारण भ्याट हटाउनुपर्ने उनीहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News