अपडेट 
२०८० असार १०, आईतवार ०६:३८

विश्व विख्यात नेपालका वरिष्ठ नेत्र रोग विशेषज्ञ एवं आँखा सर्जन प्राध्यापक डा.सन्दुक रुइतलाई जनकपुरधाममा शनिबार आधा दर्जन सरकारी एवं सामाजिक संघ संस्थाहरूले सम्मान गरेका छन् ।

जानकी आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनरेश सिंहसहितकाले डा.रुइतलाई जानकी मन्दिरको प्रतीमासहितको मायाको चिनो र सम्मानित पत्र प्रदान गरेका थिए । खास गरी आँखा उपचारको क्षेत्रमा डा. रुइतले गरेको मेहनत र क्रियाशीलताले सिंगो देशकै गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको छ ।

कार्यक्रमका वक्ताहरुले स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा.रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताए । कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा.रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराएकोले उनलाई जति सम्मान गरेपनि कम हुने बताए । अस्पतालका अध्यक्ष रामनरेश सिंहले आँखा अस्पतालको विकासको लागि डा.रुइतले गरेको अविष्मरणीय योगदानको प्रशंसा शब्दमा अटाउन नसकिने बताए । उनले आँखा उपचारको क्षेत्रमा मात्र नभइ सामाजिक विकास तथा मानवीय सेवाको भावना डा.रुइतमा अतुलनीय रहेको जिकिर गरे । डा.रुइतले नेपालमा पहिलो पटक आँखा उपचारमा लेन्सको प्रयोगलगायतको नयाँ प्रविधिमा आमूल परिवर्तनकारी भूमिका निर्वाह गरेको बताउँदै अध्यक्ष सिंहले उनको योगदानको तुलना गर्नै नसकिने बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह,पूर्व संविधानसभा सदस्य डा.विजय कुमार सिंह,अस्पताल व्यवस्थापन समितिका कोषाध्यक्ष धीरेन्द्र मोहन झा,समितिका पूर्व सभापति डाविनोद शर्मा,पूर्व मेडिकल डाईरेक्टरद्वय डा.हेमचन्द्र झा र डा.दामोदर प्रधान,धनुषाका प्रमुख जिल्ला अधिकारी काशी राज दाहाल,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णलगायतका व्यक्तिहरुले शुभकामना मनतव्य राखेका थिए । समितिका कोषाध्यक्ष झाले स्वागत मनतव्य राखेका थिए ।

यता अभिनन्दन पत्र लिँदै डा.रुइतले सीतामाताको पवित्र नगरीमा सम्मानित हुन पाउँदाको खुशी शब्दमा व्यक्त गर्न नसकिने बताए । आँखा उपचारको क्षेत्रमा जनकपुरधामको लागि गर्न सकिने काम र सहयोग गर्न एक कदम अगाडि बढेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News