अपडेट 
२०८० असार १०, आईतवार १७:४९

सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालय धनुषाका कर्मचारीहरु आन्दोलित भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालय अगाडि धर्नामा बसेका छन् । अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु विभिन्न ४ बाँदे माग अगाडि सारेका छन् ।

अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर्न, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी नखोस्न, हुलाकको संरचना खारेज होइन यसको सेवाको पुनःसंरचना गर्न र राजीनामा दिई सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधि तथा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरेर विरोध गरेका थिए । अतिरिक्त हुलाक, इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरुमा माग पूरा नभएसम्म प्रदर्शनका साथै कामकाज ठप्प पारी तालाबन्दी गर्ने र यो चरणको आन्दोलन सकिँदासम्म पनि सरकारले माग पूरा नगरे यसपछि हुलाक सेवा विभागमा धर्नामा बस्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन धनुषाका संयोजक प्रदीप कुमार यादवले चेतावनी दिए ।

धनुषामा ७५ वटा अतिरिक्त हुलाक कार्यालय छन् भने त्यसमा १७५ जना कर्मचारी कार्यरत रहेका छन् ।

Comment


Related News

Latest News

Trending News