अपडेट 
२०८० असार ११, सोमबार ०७:१७

धनुषाको पाँच वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।

असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान छ । तर, मिथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरुमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको छ ।

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण बजेट प्रभावित भएको आरोप लगाए । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो छ । ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान ग¥यौं । तर दुबै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित हुनुभयो,’उनले भने,‘बुँदागत रुपमा उहाँहरुले हालसम्म कुनै माग पनि राखेका छैनन् । खै के हो ? उहाँहरुसँगै बुझ्न्स ।’ यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाएनन् ।

यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको जनकपुर टुडेको जिज्ञासामा उनले पुनः सोही कुरा दोहो¥याएर फोन राखे । तर, यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।

कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेका छैन् । उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताइन् । जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएको कारणले बजेट नआएको उनले बताइन् । यसअघि उनले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा नै दिएकी थिइन् । नगर प्रमुख विशेश्वर यादवसँग सुरुवाती समयदेखि उनको मनमुटाव छ । शहीदनगर नगरपालिकामा नगरसभा हुने बारे कुनै तयारी छैन् । जनप्रतिनिधिहरुले नगर प्रमुखसँग असन्तुष्ट छन् । नगर प्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ छ । तर उपप्रमुख सुनिता कुमारी सिंहले छलफल गर्न बाँकी रहेको कारण बजेट ल्याउन नसकेको बताइन् । योजना तर्जुमा भए पनि अन्य काम छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनले बताइन् । ‘केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ । उनले योजना बाँडफाँटतर्फ संकेत गर्दै भनिन्,‘ प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौ ।’

यस्तै, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधिहरुले अन्य नेताको इसारामा चलेको कारण विवाद भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News