अपडेट 
२०८० असार १२, मंगलवार ०६:५९

जिल्ला प्रशासन कार्यालय धनुषाबाट दुई दिनमा एक सय १३ जना जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता लिएका छन् ।

आइतबार ४२ र सोमबार ७१ जनाले नागरिकता लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनाएका छन् । उनका अनुसार जन्मसिद्ध नागरिकताका लागि दुई हजार आठ सय ५८ जनाले टोकन लिइसकेका छन् । कार्यालयले एक दिनमा एक सय जनालाई मात्रै सो नागरिकता दिने गरेका छन् । यस आधारमा एक महिनासम्मको लागि टोकन वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

यसै कार्यालय मातहत रहेको इलाका प्रशासन कार्यालय यदुकूहाले मंगलबारदेखि नागरिकता वितरण गर्ने छन् । अतिरिक्त कर्मचारीको आवश्यकता देखिएको छ । कार्यालयमा आवेदनको चाप बढेको छ,’प्रमुख जिल्ला अधिकारी दाहालले अत्तिरिक्त कर्मचारी नलगाए कार्यालयको अन्य काम प्रभावित हुन सक्छ । अतिरिक्त कर्मचारी खटाउन स्रोतसाधन अभाव रहेको प्रजिअ बताए । त्यस्तै,वीरगञ्जमा जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारीहरुलाई आइतबारदेखि भ्याइ न भ्याइ छ । नागरिकता लिने युवाहरुको भीडले गर्दा कर्मचारीहरुको कामलाई झन गतिलो बनाएको छ ।

कार्यालयका अनुसार पर्साबाट जन्मसिद्ध नागरिकका १ सय २१ जना सन्तानले नागरिकता लिएका छन् । यसैगरी,नागरिकता प्राप्तिका लागि ३ हजार ६ सय भन्दा बढीले आवेदन दर्ता गराइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । नागरिकता लिनेहरुको भीडलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्साले अनलाइन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको पौडेलले बताए ।

Comment


Related News

Latest News

Trending News