ज्ञानको विकास सरलबाट जटिल प्रक्रियाबाट हुने गर्छ । यसको कारण समयको गतिशील स्वाभाव हो । समय हरेक क्षण नयाँमा प्रवेश गरिरहेको हुन्छ र यससंगै हरेक क्षण समय पुरानोपनि हुँदै जान्छ । मानवीय ज्ञानपनि यसै प्रक्रियाबाट गुज्रने गर्छ । कुनै बेला मानिसको निम्ती संसारको क्षेत्रफल सानो थियो । तर प्राकृतिक र सामाजिक कारणहरुले गर्दा मानिसले ठूला ठूला यात्रा गरे । अफ्रिका र अमेरिकाका मानिसहरु एसिया र अस्ट्रेलिया, तथा एसियाका मानिसहरु अमेरिका, युरोप र अफ्रिका पुगे ।
सनिरन्तर हिमपात, भोजनको खोजी, भोजन सामग्रीको अभाव र सहजता, र युद्ध आदि प्राकृतिक र सामाजिक घटना र त्रासदीहरु घटित हुनु, प्रागैतिहासिककाल तथा ऐतिहासिककालमा मानिसका ठूला ठूला यात्रा अभियानका कारणहरु थिए ।यस क्रममा प्रकृतिसंगको कठिन र सरल सम्बन्धहरु तथा भिन्न भिन्न मानव समुदायबीचको अन्तद्र्वन्द्व र अन्तर्घुलनहरुले उनिहरुको जीवन व्यवहार, जीवन शैली, सिप र मनोविज्ञानलाई प्रभावित ग¥यो । यी अन्तद्र्वन्द्व र अन्तर्घुलनहरुले जीवन र जगत बारेको जानकारी र चिन्तनलाई नयाँ उँचाईमा पु¥याउँदै लग्यो । अर्को शब्दमा मानव समुदायमा जीवन र जगतबारेको ज्ञान र चिन्तन निरन्तर विकसित भई रह्यो । जीवन र जगतको ज्ञानका यसै निरन्तर विकास र विस्तारको परिणाम नै विचारको क्षेत्रमा दर्शन र विचारधाराहरु, तथा भौतिक, रसायन, गणित, अन्तरिक्ष, चिकित्सा, मनोविज्ञान आदि विज्ञानका विविध क्षेत्रहरु, इतिहास र भुगोलबारेका विशिष्ट ज्ञानधाराहरुको विकास तथा आविष्कार हो । जीवन र जगतको ज्ञान र चिन्तन प्रक्रियाको इतिहासको अध्ययनबाटपनि के थाहा हुन्छ भने प्रकृतिसंगको सहकार्य र द्वन्द्वको व्यवहारमा मानिसले सबैभन्दा पहिले अनुभव गरे र त्यस अनुभवहरुलाई निरन्तर प्रयोगबाट तिखार्दै सचेतन ज्ञान र विज्ञानको स्तरमा विकास गरे ।
दार्शनिकहरुले यसलाई ज्ञानको चरणबद्ध विकास भनेका छन् । मानिसले पहिलो व्यवहारबाट प्राप्त ज्ञान अनुभवसिद्ध ज्ञान हो भने, यस अनुभवको निरन्तर व्यवहारबाट विकास हुने ज्ञान बुद्धिसंगत ज्ञान हो । व्यवहारबाट अनुभवसिद्ध ज्ञान र अनुभवसिद्ध ज्ञानबाट बुद्धिसंगत ज्ञानको चरणमा विकासको यो निरन्तर जारी रहन्छ, अर्को चरणमा पुरानो बुद्धिसंगत ज्ञान अनुभवसिद्ध ज्ञानमा परिणत भैसकेको हुन्छ भने प्राप्त हुने नयाँ ज्ञान नयाँ चरणको बुद्धिसंगत ज्ञान हुनेगर्छ । ज्ञान प्राप्तिको यो प्रक्रिया विज्ञान, इतिहास, समाजशास्त्र लगायत ज्ञानका सबै क्षेत्रमा निरन्तर चलि रहन्छ । यहाँ उल्लेखनीय के छ भने अनुभवसिद्ध ज्ञान र पुरानो चरणको बुद्धिसंगत ज्ञानका तर्क, चिन्तन र व्याख्या नयाँ बुद्धिसंगत ज्ञानको तुलनामा पुराना हुनेगर्छन । समयको गतिशीलताको दृष्टिले नयाँ बुद्धिसंगत ज्ञान सदा अग्रगामी हुने गर्छन्, तथा अनुभवसिद्ध ज्ञान तथा पुराना बुद्धिसंगत ज्ञान पुराना, प्रारम्भिक र बालसुलभ लाग्ने गर्छन् । हाम्रा धर्मशास्त्र र पुराण ग्रन्थहरु मानवीय ज्ञानको विकासको यस्तै संग्रहहरु हुन् । यी ग्रन्थहरुबाट हामी मानवीय चेतनाको प्रारम्भिक अनुभवसिद्ध र बुद्धिसंगत ज्ञानको दर्शन गर्छौँ । विश्वको सबैभन्दा पुराना ग्रन्थ मानिने ऋग्वेदमा हामी प्राचीन मानव समुदायलाई भोजन संग्रही समुदायको रुपमा बढी फलफुल पाइने जंगल तथा वर्षैभरी पानीले भरिरहने नदिको खोजीमा विचरण गरिरहेको तथा प्रकृतिसंगको द्वन्द्वमा व्यस्त पाउँछौँ ।
यस क्रममा उनिहरु भिन्न भिन्न मानव समुदायसंग भोजनको निम्ति युद्ध गरिरहेको पाउँछौँ । समुदायगत रुपमा ऋग्वैदिक मानव समुदायहरु प्रकृतिसंगको कठिनता तथा सहजताको बाध्यतामा विचरण गरेर प्रकृति र मानिस समुदाय ( तत्कालीन जीवन र जगत)को स्वाभाव बारे अनुभवसिद्ध ज्ञानको निरन्तर व्यवहार गरेर बुद्धिसंगत ज्ञानमा विकास गरिरहेको देखिन्छ । यस बुद्धिसंगत ज्ञानको अभिव्यक्ति हामी ऋग्वेदको दशौ मण्डलमा पाउँछौँ, जतिबेला समयसंगै प्रारम्भिक सरल वैदिक समुदाय जटिल हुँदै जान्छ, समुदाय दास र स्वामीको रुपमा विभक्त भैसकेको हुन्छ । वर्षामा बाढी आउँछ र सार जगत डुब्छ, सबै तहस नहस हुन्छ , फेरी वर्षा हराउँछ र सबै सामान्य हुन्छ फल फुलका बिरुवा उम्रन्छन्, फुल फुल्छन्, ।गर्मीमा जंगलमा डढेलो लाग्छ, सारा तहस नहस हुन्छ, जनारवरहरु जलेर मर्छन् । खानको अभाव हुन्छ, बाध्यतामा मानिसहरु डढेर मरेको जनावरको मासु खान्छ । अहो ! पहिले खाने गरेको काँचो मासुको स्वादभन्दा यो आगोमा डढेको मासु स्वादिलो छ । यो नयाँ अनुभव हो । मानिसले आकाश तिर हेर्छ । आकाशमा कुनै बेला भत्भत पोल्ने सूर्य कुनै बेला चीसोमा न्यानो आनन्दमा हुने गर्छ । सूर्य डुबेपछिका तारा र चन्द्रमा रमाइला छन् । प्रारम्भिक मानिसहरुले प्रकृतिको यो स्वाभाव र यस संगको द्वन्द्वको अनुभव गरिरहेका थिए । प्रकृति किन यस्तो छ, यससम्बन्धी जिज्ञासा त थियो, तर यसको उत्तर उनीहरुसंग थिएन । थियो त प्रारम्भिक चेतना तथा अनुभवमा आधारित कल्पनाजन्य तर्कहरु । ऋग्वेदको अन्तिमतिर दसौँ मण्डलमा जतिबेला भोजनसंग्रही यायावर (फिरन्ते) समुदाय कृषि कार्य सिकेर स्थिर समुदायमा परिणत भएका थिए, जीवन र जगत बारेका प्रारम्भिक जिज्ञासा र यसको जवाफ दिने प्रारम्भिक प्रयत्न गरेका पाइन्छ ।
यस मण्डलमा वैदिक ऋचाकारहरुले पहिलो पटक पृथ्वी, आकाश, अन्तरिक्ष, ब्रह्माण्ड, कस्ले निर्माण ग¥यो, भन्ने जिज्ञासा राख्छन् । तर उनको प्रारम्भिक ज्ञानमा यसको तथ्यसंगत जवाफ छैन । त्यसैले उनिहरुले आफ्नो अनुभवसिद्ध ज्ञानको काल्पनिक आधारमा उत्तर दिने प्रयत्न गर्छन् । ऋग्वेदको दसौँ मण्डललाई पुरुष सूक्तपनि भनिन्छ । यस्मा यस जीवन, जगत र अन्तरीक्षको निर्मातालाई एक्काइसवटा ब्रह्माण्ड मध्ये एक्काइसौँ ब्रह्माण्डमा बस्ने सहस्रशीर्षा (हजार सिर भएको), सहस्राक्ष (हजार आँखा भएकों), सहस्रपात (हजार पाउ भएको), काललोकभन्दा परको (सर्वशक्तिमान) ‘पुरुष’ भनिएको छ । ब्राह्मणधर्म अनुकूल विभेदयुक्त वर्ण व्यवस्थाको विस्तृत व्यवस्था र व्याख्या त पछि शुक्ल यजुर्वेद, शतपथ ब्राह्मण, मनु स्मृति र याज्ञवल्क्य स्मृतिमा गरियो, तर यसको प्रथम उल्लेख यसै पुरुष सूक्त मै पाइन्छ । जीवन र जगतको निर्माण बारे यस प्रकारका व्याख्याहरु हिन्दु धार्मिक ग्रन्थहरुमा मात्रै भएको भन्ने होइन । प्रकृतिसंगको सहकार्य र द्वन्द्वको क्रममा यस्ता प्रारम्भिक अनुभवसिद्ध काल्पनिकताको आधारमा सबै धर्ममा उत्तर दिने प्रयत्न गरिएको छ, र कथातत्व भिन्न भएपनि प्रकारान्तरले सबै धर्मका आख्यानहरुमा जगत र ब्रह्माण्डका निर्मातालाई सर्वशक्तिमान र अलौकिक समानरुपमा भनिएको छ ।
अहिले विज्ञानको विकास र खोजहरुले यस ब्रह्माण्ड, जगत र जीवनको विकास बारे तथ्यसंगत वैज्ञानिक व्याख्या प्रस्तुत गरेको छ । यी वैज्ञानिक विचारहरु तथा प्रमाणयुक्त व्याख्याहरुले धार्मिक ग्रन्थहरुमा भनिएका धारणाहरुलाई मानिसका प्रारम्भिक चेतनाका काल्पनिक उडान भनेको छ । निश्चय नै अहिलेको विज्ञानको विकासमा प्रारम्भिक मानवसमुदायको जिज्ञान र जिज्ञासाशमनका प्रारम्भिक व्याख्याहरुको पनि महत्व छ । विज्ञानको विकासमा जीवन र जगत बारे प्रारम्भिक मानव समुदाय अर्थात ऋग्वैदिक प्राचीन मानव समुदायहरुको व्याख्याको जहाँसम्म महत्वको कुरा छ, यसले मानिस चेतनालाई जिज्ञासामय बनाउन मद्दत ग¥यो । तर धार्मिक ग्रन्थमा जीवन र जगतको निर्माण बारे व्याख्या गरिएका धारणाहरु अहिले अवैज्ञानिक छन्, यसमा दुई मत छैन । ज्ञानको विकासका चरणहरु तथा ऋग्वैदिक सन्दर्भहरुको एउटा पाटो त्यतिबेला मानव समुदायमा भैरहेको सामाजिक विभाजन र परिवर्तनहरुपनि हुन्, जस्ले तत्कालीन ज्ञानको स्वरुप, आयतन तथा विकासका कारणहरु बनेका थिए । ज्ञानहरु निरपेक्ष हुँदैनन्, भौतिक र समाज सापेक्ष हुने गर्छन् । त्यसैले समाज द्वन्द्वमय भयो भने ज्ञानको व्यवहारपनि द्वन्द्वमय हुने गर्छ र यस्को व्याख्याहरु जटिल हुन थाल्छन् । समय गतिशील छ र समाज द्वन्द्वमय । मानवीय समाज एकातिर प्रकृतिसंग द्वन्द्वमय छ, भने अर्कोतिर आवश्वयकता पूत्र्तिको निम्ति उत्पादन र उत्पादनको साधनमाथी स्वामित्वको निम्ति सामाजिक संघर्षमा छ । यस संघर्षमा एकातिर शक्तिशाली र सम्पन्न समुदायको स्वामी सत्ता छ, र अर्कोतिर शक्तिशालीहरुबाट श्रमशोषणमा परेका र आफैले उब्जाएको उत्पादनबाट विमुख दास, श्रमिक दलित, दमित समुदाय छ ।
वर्तमान यो शक्तिशाली सम्पन्नहरुको सत्ता पूँजीवाद र श्रमिकवर्गको द्वन्द्वमा अभिव्यक्त भएपनि यस्को शुरुआत ऋग्वैदिककालमा पहिलो पटक दास र स्वामीको रुपमा देखिएको थियो । मानवीय समाजको यस जटिलता तथा विभाजित स्थितिले वर्गीय स्वार्थहरु जन्माउँछन् । यस्ले सत्ता र शोषित दुबै वर्गको निम्ति ज्ञानका आ–आफ्नै परिप्रेक्ष्यहरु खडा गर्छन् । सत्ताले यथास्थितिलाई कायम राख्नलाई ज्ञानको आफ्नै व्याख्या, सन्दर्भ र औचित्य रच्छ, भने शोषित समुदायको आफ्नै व्याख्याको आवश्यकता हुन्छ । यस्तोमा सत्ताले आफूले रचेको व्याख्याहरुलाई अन्तिम सत्य भनेर धर्मको रुपमा प्रस्तुत गर्छ, र शासित समुदायको निम्ति बाध्यकारी बनाउँछ । ऋग्वेदपछि रचिएका शुक्ल यजुर्वेदको ब्रह्मको अलौकिकता तथा कर्मकाण्डका बाध्यकारी व्यवस्थाहरु धर्मका यस्तै शासकीय पाटाहरु हुन् । सत्ताले धर्माचार्यहरुको सहयोगमा रचेको कर्मकाण्डका बाध्यकारी अवस्थालाई उल्लंघन गर्ने हो भने के हुन्छ ? धर्माचार्यहरुले यसको निम्ति मनुस्मृति, याज्ञवल्क्य स्मृति र गौतम स्मृति जस्ता विधि संहिता (कानून)को रचना गरे, जस्मा दण्ड र सजायको व्यवस्था गरियो । यी स्मृतिहरुमा गरिएका व्यवस्थाहरु विभेदपूर्ण वर्ण व्यवस्थाको माथिल्लो श्रेणीमा हुनेको निम्ति कम र तल्लो श्रेणमा हुने (शुद्र, अन्त्यज आदि)को निम्ति क्रूर र अमानवीय समेत छन्, जस्तै ः ब्राह्मणप्रति लक्षित सामान्य अपराधमा पनि शूद्रको हत्या सामान्य छ, भने गम्भीर र जघन्य अपराधमा पनि ब्राह्मणको निम्ति सामान्य दण्ड सजायको व्यवस्था गरिएको छ । यो समाजलाई सत्ताधारी वर्गहितको दृष्टिले विभाजित र भयग्रस्त राख्नु हो ।
वर्तमान समाज पुरानो वैदिककालीन वा पौराणिककालीन समाज होइन । यो पूँजीवाद र सर्वहारा श्रमिकबीचको संघर्षको युग हो । तर यस ती पुरानो समाजको व्यवस्थाहरु राज्यसत्ताको स्वरुपमा परिवर्तनसंगै आफूलाईपनि समयानुकूल परिवर्तित गर्दै आएको छ । पौराणिककालका वर्ण व्यवस्थाका चारवटा श्रेणीभित्र अनेकौँ जात जातिहरुको विकास भैसकेको छ । उल्लेखनीय के छ भने यी जातिय विकासहरु तिनै ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रको श्रेणीभित्र भएको छ । त्यसैकारण वर्णभेदको शोषणपनि यसश्रेणी अनुकूल नै छ । पूँजीवादी राजनीतिक आर्थिक संरचनाको कारण वर्तमानमा ब्राह्मण र क्षेत्री वर्णभित्रपनि सम्पन्न र शक्तिशाली, तथा असम्पन्न र कमजोर वर्गको निर्माण गरेको छ ; तर धर्मभिरु सामाजिक संरचनामा उपल्लो श्रेणीको तुलनामा तल्लो श्रेणीमा बहुसंख्यक शोषणमा छ । यस्तोमा समाजलाई शोषणमुक्त बनाउने हो भने यस विभेदपूर्ण वर्णाश्रमी सामाजिक संरचना तथा यसलाई प्रोत्साहित गर्ने धर्म र औपनिषदिक व्याख्याहरुबाट मुक्त हुनु आवश्यक छ । अर्को शब्दमा यथास्थितिबाट मुक्त हुनु आवश्यक छ । अनेकौँ राजनीतिक परिवर्तनका बावजूदपनि युगौँ पुरानो चेतनामा आधारित सामाजिक संरचनामा परिवर्तन न आउनु तथा सामाजिक सांस्कृतिक शोषण यथावत रहनुका मूख्य कारण यथास्थिति र यस्का कारक तत्वहरुलाई बुझ्न नसक्नुपनि हो । हजारौ वर्ष पुरानो त्यो धार्मिक चेतना र सामाजिक कर्मकाण्डको भ्रम तथा अन्धआकर्षण शोषित समुदायको चेतनामा यसरी व्याप्त छ कि उसले शोषण र विभेदयुक्त धार्मिक मान्यता तथा संस्थाहरुलाई आफै बचाउन चाहन्छ ।
यो मूर्ख र अन्धचेतना यति जब्बर छ कि, यस्ले शिक्षा र स्वस्थ्य जीवनको निम्ति विद्यालय र अस्पताल जस्तो जीवन हितकारी संस्था निर्माण भन्दा आफैमाथी शोषण गर्ने मन्दिर बनाउनु तथा धर्माचार्यको अभिनन्दनमा आत्मिक खुशी अनुभूत गर्छ । राज्यसत्ता र शक्तिशाली वर्गले यस भ्रमलाई यथावत राख्न तथा झन् दृढ बनाउन अनेक दाउ खेल्नु स्वाभाविक नै हो । वर्तमानको द्वन्द्व र सत्य यही हो । वर्तमानको द्वन्द्वात्मक ज्ञानपनि यही हो । ज्ञान सत्यको अनुभूति हो । दुःख दुख्यो भने तपाँईलाई दुःखको ज्ञान छ । दुःख दुखेन भने कि त तपाँई अज्ञान हो, कि त तपाँई भ्रमित रोगी हो । धर्म होस वा दर्शन, विज्ञान होस वा राजनीति, सबैलाई यसै कसीमा कस्नु पर्छ । अनुकूल छ भने ठिक छ, होइन भने दृढतापूर्वक यसलाई बदल्नु नै सही तरिका हो । सत्य, ज्ञानानुभूति र व्यवहारको यो द्वन्द्वात्मकताको अनुभूति र बुद्धिसंगत ज्ञानमा रुपान्तरण नै समय र समाजको सही दिशा हो ।