अपडेट 
२०८० असार १२, मंगलवार ०७:३८

धनुषाको जनकनन्दिनी गाउँपालिकाले ४७ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि गाउँपालिकाको १० औं गाउँ सभाबाट ४७ करोड ३३ लाख ९२ हजार १ सय रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । सम्पन्न गाउँ सभाबाट गाउँपालिका अध्यक्ष दीपिनदेव यादवले सो अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

कृषि, शिक्षा, स्वास्थ्य र सञ्चार प्रविधिमा पालिकाले जोड दिएको छ । गाउँपालिकाको महत्वपूर्ण चोकहरुमा सीसीटीभी क्यामरा जडान गर्नुका साथै लैण्डलाइन टेलिफोन, गाउँपालिकाको डिजिटल प्रोफाइल तथा गाउँपालिकालाई फ्रि वाइफाइ जोन बनाउने लक्ष्य लिइएको गाउँ पालिका अध्यक्ष यादवले जानकारी दिए । गाउँपालिकाले आर्थिक विकास नीति, सामाजिक विकास नीति,स्वास्थ्य नीति लगायतका नीतिहरु समेत सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक विकासका लागि कृषि तथा पशु विकासमा जोड दिएको छ । गाउँमा रहेका कृषकहरुका लागि व्यवसायिक कृषि प्रणाली, एक विघा भन्दा कम खेत रहेका कृषकहरुका लागि निःशुल्क कृषि मिटर, कृषिजन्य सामग्रीको भण्डारण र व्यवस्थापनमासमेत जोड दिइएको छ ।

सभाबाट उद्यमशिलता विकासमा जोड दिइएको छ भने साना तथा ठूलो उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ । बजार व्यवसायको प्रोत्साहन गर्नुका साथै गाउँपालिकाको अर्थतन्त्रको विकासका लागि सबै खाले उद्योग धन्धा र साधन स्रोतको संरक्षण,सम्वद्र्धन गरी स्थानीय श्रम, सीप र कच्चा पदार्थमा अधारित लगानीलाई उच्च प्राथमिकता दिइएको छ भने उद्योग ग्रामको व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ । सो गाउँपालिकाले पर्यटकीय स्थलको खोजी गरी पूर्वाधारको विकास र मठमन्दिर, मस्जिद सवैको अभिलेख तयार गरी संरक्षण तथा सुधारका कार्यक्रम सञ्चालन गरिने गाउँ पालिका अध्यक्ष यादवले जानकारी दिए । पालिकाले पालिका भित्र रहेका छात्रछात्राहरुले सर्वोत्कृष्ट अंक ल्याउनेलाई प्रोत्साहन स्वरुप पाँच जनालाई पुरस्कृत गर्ने, शैक्षिक क्यालेण्डर, विद्यालयहरुमा भौतिक संरचना, प्राथमिक तहदेखि अंग्रेजी माध्ययममा पठन पाठन, प्रत्येक वडामा एक पुस्तकालय स्थापना गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै,खजुरीमा रहेका बर्थिङ्ग सेन्टरलाई प्रभावकारी रुपमा व्यवस्थापन, घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ । त्यस्तै,खानेपानी तथा सरसफाइ, समावेशीकरण÷गरीबी निवारण तथा संस्कृति, मानव संसाधन विकास नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने योजना लिइएको छ ।

Comment


Related News

Latest News

Trending News