अपडेट 
२०८० असार १३, बुधबार ०८:१३

बाराको १६ वटा पालिकामध्ये सबैभन्दा पहिला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको जीतपुर सिमरा उपमहानगरपालिकाले निर्धारित समयमा बजेट भने सार्वजनिक गर्न सकेनन् । जीतपुर सिमरा उपहानगरले असार ३२ गते बजेट ल्याउने भएको छ ।

यसअघि असार १० र १३ गतेका लागि बोलाइएको नगरसभा नीति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर स्थगित भएको थियो । कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गरेपछि सभाको मिति तोकिएको छ । उपमहानगरले असार २ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । लोकसेवा आयोगमा वैकल्पिक छनोटमा परेका व्यक्तिहरुलाई म्याद थप, करारका शिक्षकहरुलाई कार्यसम्पादनको आधारमा करार अवधि थप गर्ने, ठेक्कापट्टा लगायतका विषयलाई लिएर एमाले वडाध्यक्षहरुले विरोध जनाएपछि समयमै बजेट सार्वजनिक गर्न नसकेको उपमहानगर स्रोतले जनाएको छ ।

गत वर्ष २ अर्ब २० करोडको अनुमानित बजेट सार्वजनिक गरेको जीतपुर सिमरा उपमहानगरले मालपोत कर र खोलाको ठेक्का नलागेपछि हिउँदे अधिवेशनमार्फत १ अर्ब ९२ करोडको संशोधित बजेट सार्वजनिक गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने १ अर्ब ५६ करोडको अनुमानित बजेट सिलिङ तयार भए पनि हालसम्म विषयगत समितिहरुबाटै बजेटको टुङ्गो नलागेको एमाले वडाध्यक्ष हरिदेव खरेलले जनाए । ‘हामीले नीति तथा कार्यक्रममा सबैभन्दा पहिला ल्याउन सहयोग गरेकै हो, बजेटमा पनि हाम्रो कुनै विरोध छैन तर विषयगत समितिबाटै बजेटको टुङ्गो लागेर आउनुप¥यो भन्ने कुरा हो,’ वडाध्यक्ष खरेलले भने । लोकसेवा आयोगमा वैकल्पिकतर्फ नाम निकालेकाहरुलाई नगरप्रमुख राजन पौडेलले उपमहानगरमा नियुक्ति गरेपछि उपप्रमुखसहित एमाले वडाध्यक्षहरुले विरोध जनाउँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News