अपडेट 
२०८० असार १३, बुधबार ०८:१९

किसानलाई कृषिमा यान्त्रिकरणतर्फ उत्प्रेरित गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वीरगञ्ज कार्यालयले उन्नत प्रविधि तथा कृषि यान्त्रिकरण सम्बन्धी तालिम दिएको छ ।

आइतबारबाट सुरु भएको तीन दिने तालिम मंगलबार सम्पन्न भएको छ । तालिममा प्रशिक्षार्थी किसानहरूलाई कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जमा धान खेतीमा प्रयोग हुने कृषि उपकरणबाट स्थलगत जानकारी गराइएको थियो । खेतमै पुगेर व्यवहारिक ज्ञानसहितको तालिम पाएपछि किसान उत्साहित भएका छन् । किसानलाई हिलोमा छरुवा धान रोप्ने ड्रक सिडर प्रविधि, चार पाङग्रे ट् याक्टरबाट चलाइने सुख्खामा छरुवा धान खेती प्रविधि जिरो टिलेज सिड कम फर्टिलाइजर ड्रिल मेसिन, न्यूनतम जोताई प्रविधिबाट धान रोप्ने पावर टिलरबाट चल्ने चाइनिज सिडकम फर्टिलाइजर ड्रिल मेसिन र राइस ट्रान्सप्लान्टर प्रविधिको लागि बेर्ना तयार गर्ने प्रविधिबारे स्थलगत तालिम दिइएको थियो । साथै केन्द्रले हालसम्म विकास तथा सिफारिस गरेका कृषि यन्त्रबारे पनि किसानलाई अवगत गराइएको थियो ।

कृषि औजार अनुसन्धान केन्द्रका प्रमुख इन्जिनियर सचिनकुमार मिश्रले कृषि श्रमिकको बढ्दो अभाव र खेतीयोग्य जग्गाको उत्पादकत्व घट्दै गएको सन्दर्भमा कृषिमा यान्त्रिकरणको विकल्प नरहेको बताए । किसानले धान खेतीमा अझै पनि परम्परागत तरिका नै अपनाइरहेकाले उनीहरूलाई किसानमैत्री प्रविधि तथा यान्त्रिकरणतर्फ आकर्षित गराउन तालिमको आयोजना गरिएको मिश्रले बताए । तालिममा सूचीकृत कृषक सहकारी संस्थामा आबद्ध २१ किसान र ५ प्राविधिकहरूको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News