अपडेट 
२०८० असार १४, बिहीबार ०६:५९

जनकपुरधामका व्यवसायीहरुले आलु,प्याज र फलफूलमा लगाइएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार जनकपुरधाममा उनीहरु प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले आलु,प्याज र फलफूलमा १३ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । सोही कर खारेजका लागि आलु,प्याज व्यवसायीहरुले बुधबार प्रदर्शन गरेका छन् । व्यवसायीहरु सरकारविरुद्ध चर्को नारावाजी गर्दै जनक चोकमा आएर कोण सभा गरेका थिए । उनीहरुले १३ प्रतिशत कर खारेज गर,खुल्ला नाका बन्द गर र कृषिजन्य सामग्रीमा कर लगाउन पाइदैन लगायतको नारावाजीसमेत गरेका थिए । आलु प्याजमा कर लगाए लगतै जनकपुरधामलगायत मधेश प्रदेशका व्यवसायीहरु आलु प्याजको आयात बन्द गरेका छन् । जसको प्रत्यक्ष प्रभाव यहाँका उपभोक्ताहरुमाथि परेको छ । आलु प्रतिकिलो ७० र प्याज ९० को करीब पुगेको छ । भारतबाट आयात हुने आलु प्याज बन्द भएपछि आलु प्याजको तस्करी बढेको छ । बरु खुल्ला नाका बन्द गर्दा हुने तर आलु, प्याज र फलपूmलमा लगाइएको कर हटाउनुपर्ने संघका अध्यक्ष अलाउदिन राईनले बताए ।

बजेट जनताको लागि हुनुपर्ने व्यवसायीहरुको धारणा छ । आलु प्याजमाथि कर लगाउँदा मूल्य आकाशिने भएकाले कृषि जन्य पदार्थमा पहिला पनि कर थिएन् र अहिले पनि लगाउनुनपर्ने व्यवसायीहरुको धारणा छ । कृषि प्रधान देश भए पनि कृषिजन्य पदार्थ आयात गर्नुपर्ने हामी व्यवसायीहरुको बाध्यता छ सरकारले कृषि क्षेत्रमा लगानी नगर्दा यावत समस्याहरु सामुने आएको उनीहरु बताउँछन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलु,प्याजमा लगाइएको करको सरकारले विकल्प खोज्नुपर्ने बताए । पुरानो प्रवृति देखिएको हुनाले तत्काल फिर्ता लिन उनले अनुरोध गरे । सरकारको कारण व्यवसायीको लगानी गुम्ने खतरा रहेको उनले गुनासो गरे । ‘राजस्व चुहावट रोक्नुपर्छ । तर,आलु प्याजमा कर लगाउनु गलत हो,’उनले भने,‘यसमा पुर्नविचार गर्नुपर्छ । राज्य संचालनको लागि करमा मात्रै सरकार निर्भर हुनु पनि गलत हो ।’ व्यवसायीको माग पूरा नभए अझ सशक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिए ।

सरकारले लगाएको करले प्रत्यक्ष नागरिकसँग सरोकार राखे पनि नागरिक मौन रहेका कारण सरकारको मनोबल दिनप्रतिदिन उच्च हुँदै गएको व्यवसायीहरुको आरोप छ । उनीहरुले आम नागरिकलाई पनि विरोधमा सहयोग गर्न आग्रह गरे । आलु, प्याज तथा फलफूलमा प्रस्ताव गरिएको कर (भ्याट) रकमको व्यवस्था हटाइ बजेट पारित नगरेसम्म भारतबाट आलु प्याज नल्याउने व्यवासयीहरुले चेतावनी दिए । व्यवासयीहरुले भारतबाट सो सामग्री ल्याउन बन्द गरेपछि बजारमा आलु प्याजको समस्या उत्पन्न भएको छ । त्यसले नेपाली बजार प्रभावित भएको छ । धमाधम आलु, प्याजको मूल्य महंगो भएको छ । सरकारले कृषिजन्य सामग्रीमा थप कर लगाएपछि नेपाली बजार प्रभावित भएको छ । दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य सामग्रीमा कर लगाएपछि आलु प्याज भन्सार छली नेपाल भित्रिरहेको छ । सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले लगाइएको करका कारण झन राजस्व गुम्दै गएको व्यवसायीहरुको गुनासो छ ।

Comment


Related News

Latest News

Trending News