अपडेट 
२०८० असार १५, शुक्रबार ०७:३६

राजविराज नगरपालिका २ राजदेवी टोलका दीपक रायको राजविराजस्थित सिन्हा लँजमा हत्या भएको परिवारका सदस्यले दाबी गरेका छन् ।

२१ वर्षीय रायको पाँच दिन अघि सिन्हा लँजको १०७ नम्बर कोठामा मृत शरीर फेला परेको थियो । दीपकका हजुरबुबा नागेश्वरले बिहीबार संचारकर्मीहरुलाई न्यायका लागि गुहार गर्दै यस्तो दाबी गरेका छन् । नातीको मृत्यु भएको ५ दिन वितिसक्दा पनि पोस्टमार्टमको रिपोर्ट तथा घटनाको सत्यतथ्य प्रहरीले सार्वजनिक नगरेको उनको गुनासो छ । नातीको मृत्यु बारेमा अहिलेसम्म पनि यथार्थ बुझ्न नसकिएको उनले बताए । घटना बारेमा सत्यतथ्य बुझी चाँडो भन्दा चाडो छानबिन गरी यथाशीघ्र दोषी पत्ता लगाइ कारबाही गर्न परिवारजनले स्थानीय प्रशासनसँग माग समेत गरेका छन् । दीपकका बुवा मुकेशका अनुसार छोराले आफ्नो केटी साथि बिराटनगर उपमहानगरपालिका बाँसबारीकी पार्वती ऋषिसँग असार ७ गते देखि सो लजमा बस्दै आएका थिए ।

दुई दिनपछि असार ९ गते उनी बसेकै कोठामा मृत अवस्थामा फेला परेका थिए । उनीसँगै रहेकी पार्वतीले आफू बाथरुमतिर गएको बेला भित्रबाट चुकुल लगाई भेन्टिलेशनमा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको बताउँदै आएकी छन् । प्रहरीले पार्वतीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ । तर दीपकका परिवारजनले आत्महत्या नभइ पार्वती र उनका आफन्तको मिलेमतोमा हत्या गरेको दाबी गरेका छन् । दीपकका बुवा मुकेशले मृत्युको प्रकृति र घटनास्थलको अवस्थाले त्यो आत्महत्या नभइ हत्या नै भएको पुष्टि गरिरहेको बताए । छोराको नाक, मुखमा चोटको दाग देखिनु, रगत बगिरहनु झुण्डिएको भनिए पनि प्रहरी पुग्दा शव भुइमा भेटिनु, शरीरका विभिन्न भागमा शंकास्पद दागहरु देखिनु आत्महत्या नभएर हत्याको संकेत भएको बुवा मुकेशले बताए ।

लजका संचालक गुडु सिंहले भित्रबाट चुकुल लागेको र चिच्याएपछि पनि नखोलेको भन्दै दीपकका केटी साथीले जानकारी गराएको सुनाए । उनको केटी साथीले नै बल लगाएर धक्का दिँदा ढोका खुलेको र भित्र दिपक मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको संचालक सिंहको भनाई छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले घटनास्थलको प्रकृतिले आत्महत्या हुनसक्ने देखिए पनि पोष्टमार्टम रिपोर्ट आइसकेपछि सबै सत्यतथ्य जानकारी गराउने बताए । उनले दीपकका केटी साथीलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News