
विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ । आज विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्याउँदै सजाय सुनाएको हो ।
खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।
न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले फैसला सुनाएको हो । फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।
उनले पुर्ख्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरिद गरेको, २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको तथा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको अख्तियारले जनाएको थियो ।